धरान : 'जहाँ मञ्जु भण्डारी त्यही मेरो उम्मेदवारी' भन्दै आएका धरान-९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् । 

सोमबार ४ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले १५ औँ नम्बरमा स्वतन्त्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेको बताएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट धरान-९ को वडाध्यक्षमा निर्वाचित कटुवालले धरानका अहित गर्ने उम्मेदवारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । 

नेकपा एमालेबाट मेयरमा उम्मेदवार पूर्व धरान उपमहानगर उपप्रमुख मञ्जु भण्डारीले धरान र धराने जनताको लागि कहिल्यै पनि काम नगरेको र १ वर्ष सम्म कार्यवाहक मेयर हुँदा समेत धराने जनताको समस्यालाई सम्बोधन नगरेको भन्दै उनले मेयरमा उम्मेदवारी नेकपा एमालेले बनाएकोमा आफूले पनि सोही पदमा उम्मेदवारी दिएको बताए । कटुवाल धरानका राम्रा काम गर्ने वडाध्यक्ष मध्येमा गनिने मध्येका एक हुन् ।