धरान : धरानमा स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि चढ्न थालेको छ। 

केही दल गठबन्धनका लागि छलफलमा व्यस्त छन् भने धरानमा नेकपा एमालेले भने मेयर र उपमेयरको आकाङ्क्षीको नाम सिफारिस गरेर पार्टीले कसलाई टिकट दिने भनेर प्रतीक्षामा रहेको छ । नेकपा एमालेले धरानमा फेरि पनि जित निकाल्ने गरी उम्मेदवार चयन पार्टीको केन्द्रीय समितिले गरोस् भन्ने बाम कार्यकर्ताहरूको चाहाना छ भने उम्मेदवारका आकाङ्क्षीले भने सक्दो केन्द्रीय समितिमा दबाब पुग्ने गरी बुतोले भ्याए सम्म बल लगाइरहेका छन् ।

धरान उपमहानगरपालिकाको नेकपा एमालेबाट मेयरको आकाङ्क्षी मध्ये हालका बहालवाल उपमेयर मञ्जु भण्डारी सुबेदी पनि एक हुन् । उनको बारेमा धरानमा मेयरको टिकट पाउने सम्भावना भएको भनेर भनिइरहेको बेला यता नेकपा एमालेबाटै वडाध्यक्षमा निर्वाचित धरान-९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले भने मञ्जु भण्डारी जहाँ जुन पदमा उम्मेदवारको टिकट पाउँछन् त्यही पदमा स्वतन्त्रबाट उम्मेदवारी दिने बताउँछन् ।

नेकपा एमाले धरानमा कमजोर हुनुको मुख्य कारण २०७४ सालमा निर्वाचित मेयर तारा सुब्बाको निधन पछि कार्यवाहक मेयर भएर काम गरेका उपमेयर मञ्जु भण्डारीकै कारणले भएको कटुवालको दाबी छ । कार्यवाहक मेयर भएर पनि जनताका लागि केही गर्न नसकेको र अहिले फेरि मेयर पदको आकाङ्क्षी भएकोले यस्ता जनप्रतिनिधिबाट धरान र धराने जनताका लागि राम्रो नहुने सङ्केत देखेकोले जहाँ मञ्जु भण्डारी त्यही मेरो उम्मेदवारी हो कटुवालले भने । 

२०३६ सालको जनमत सङ्ग्रहको बेला धरानको सदन स्कुलमा अनेरास्ववियुबाट बाम राजनीतिमा सक्रिय कटुवाल धरानका राम्रो काम गर्ने वडाध्यक्ष मध्येमा गनिन्छन् । धरान-९ मा खानेपानी समस्याले ग्रस्त हरेक वर्ष बनाउने गरेको भन्दै वडाबाटै बजेट छुट्टाएर वडाका ५ स्थानमा खानेपानीको टङ्की राखेर खानेपानी खरिद गरेर भए पनि वडावासीलाई खानेपानी वितरण गरिरहेका छन् । यो सँगै वडालाई सफा राख्नका लागि ९ नम्बर वडाले हल्का फोहोर बोक्ने सवारी खरिद गरी अहिले आफैले फोहोर सङ्कलन गरी व्यवस्थापन समेत गरिरहेको छ । 

धरान बामपन्थीहरुको सहर हो तर यहाँ असली राजनीति हराउँदै गएकोले कम्युनिस्टको किल्ला ढलेको र उपमेयर मञ्जु भण्डारी कार्यवाहक मेयर हुँदा नगरवासीका लागि राम्रो काम गर्न नसकेकोले एमालेले पराजय भोग्नुपरेको वडाध्यक्ष कटुवालको दाबी छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिता अनुसार आफूले पनि उम्मेदवारीको तयारी गरिरहेको बताएका छन् । हार जीत आफ्नो ठाउँमा हुन्छ तर मेरो उम्मेदवारी हाल बहालवाला उपमेयर मञ्जु भण्डारी सुवेदी विरुद्ध हो भन्दै कटुवालले भने 'जहाँ मञ्जु भण्डारी त्यही मेरो उम्मेदवारी ।'