धरान : धरान उपमहानगरपालिका वडा १४ र १ मा अघिल्लो चुनावमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्ष बनेका कृष्णप्रसाद भट्टराई र रोशन अधिकारीलाई काँग्रेसको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ। 
दुवै वडाध्यक्षले यसपालि नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि राप्रपाबाट वडाध्यक्षको उम्मेदवार बनेका छन्। दुवै हलो चुनाव चिन्ह लिएर अहिले प्रचारमा सक्रिय छन् । काँग्रेस सुनसरी जिल्ला सचिव वीरेन्द्र साहका अनुसार पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीबाट उठ्ने उनीहरूको साधारण सदस्यता खारेज गरिएको बताए।
उनका अनुसार नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४(१) अनुसार कृष्णप्रसाद भट्टराई र रोशन अधिकारीलाई कारबाही स्वरूप काँग्रेसको साधारण सदस्यता खारेज गरिएको हो।  
वडाध्यक्षद्वाराले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरीत कार्य गरेको, पार्टीको  विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचार संहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका कारण उनीहरू विरुद्ध पार्टी विधान बमोजिम अनुशासनको कारबाहीमा परेको जिल्ला सचिव साहले बताएका छन्।