धरान :३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निकै लामो रस्साकस्सी पछि धरानमा चार दलीय गठबन्धन भएको छ । 

लोकतान्त्रिक वाम गठबन्धनले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी अव धरानमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बिच गठबन्धन गरेर अघि बढ्ने निर्णय भएको घोषणा गरेको छ । 

यस भन्दा अघि पनि गठबन्धन गर्ने सहमतिमा पुगेको जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर एक्लै चुनावमा जाने निर्णय सहित मेयर र उपमेयर सहित धरानका केही वडाहरूमा वडाध्यक्षको उम्मेदवारी समेत दिएको थियो । फेरि पनि लगातारको छलफल र संवाद पछि जसपा गठबन्धनमा आएको हो ।

पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा आसन्न वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनमा सत्ता घटक ५ दलले प्रतिगमन र सर्वसत्तावादको विरुद्ध, संविधानको रक्षा, सुशासन, समृद्धि र राजनैतिक स्थायित्वका निमित्त लोकतान्त्रिक बाम गठबन्धन निर्माण गरी देशव्यापी रूपमा निर्वाचनमा होमिएकोले धरानमा पनि गठबन्धन गरिएको उल्लेख गरिएको छ । 

धरान उपमहानगरपालिकाको वडा स्तरीय उम्मेदवारीको विषयमा समेत सिट बांडफाड र चुनावी तालमेलका लागि केन्द्रित भएर पटक पटक गठबन्धन दलहरू बिच सघन छलफल भएको र आम सहमतिमा पुग्न नसकेकाले जसपाको तर्फबाट यस पालिकामा मेयर र उपमेयरको उम्मेदवारी परेकोमा मिति २०७१।०१।१४ गते र मिति २०७९।०१।१६ गतेको पार्टी केन्द्र र उच्चस्तरीय ५ दलीय गठबन्धनको संयन्त्रले महानगर, उपमहानगर र पालिकाको प्रमुख र उपप्रमुखमा गरेको गठबन्धन कार्यान्वयन गर्न निर्देशनात्मक परिपत्र गरेको थियो ।

सत्ता घटक दलका स्थानीय ४ दल बिच सोही बमोजिम प्रमुख पदका गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका किशोर राई र उपप्रमुख पदका गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघालाई समर्थन गर्न ७ बुँदे सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।  

धरान उपमहानगरपालिकाको नगर प्रमुख पदमा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका किशोर राई र नगर उपप्रमुख पदमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघालाई केन्द्रीय निर्णयानुसार सघाउने, धरान वडा नं. ४ मा नेकपा एकीकृत समाजवादीलाई सघाउने, गठबन्धन दलका उम्मेदवारले जितेका वडा र नगरमा गठबन्धन दलको राजनीतिक संयन्त्र निर्माण गरी साझा नीति तथा कार्यक्रम बनाउने र वडा तथा नगरमा बन्ने विभिन्न विषयगत समिति / उपसमितिहरुमा सम्मानजनक सहभागिता गराई वडा तथा नगर सञ्चालन गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी जनता समाजवादी पार्टीले नगर प्रमुख र नगर उपप्रमुख पदमा दिएको उम्मेदवारीलाई निष्क्रिय पार्नुका साथै वडाहरूमा दिएका उम्मेदवारहरुलाई पनि सबै दलले सम्भव भएसम्म समझदारीमा ल्याउन पहल गर्ने,  विगतमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग वडामा गठबन्धन गर्दा गरिएको सहमतिको स्वामित्व ग्रहण गर्ने लगायतमा पनि सहमति भएको छ ।

विज्ञप्तिमा चार दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका धरान नगर अध्यक्ष रेवतीरमण राई, जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बु, नेकपा माओवादी केन्द्र धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङ, अन्तर पार्टी समन्वय उपसमितिकाका उपसंयोजक तिलक राई, नेपाली काँग्रेसका धरान नगर सभापति श्याम पोख्रेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले हस्ताक्षर गरेका छन् । 

Sahamati-1Sahamati-2