धरान : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीन विश्वकर्माले नेपालको राष्ट्रिय राजनीतिलाई ठिक बाटोमा ल्याउनका लागि पाँच दलीय गठबन्धन भएको बताएका छन् । 

धरानमा मंगलबार भएको चार दलीय गठबन्धनको घोषणा कार्यक्रममा बोल्दै विश्वकर्माले कुनै एक दलले बल प्राप्त गर्न र जित्ने रहरले गठबन्धन गरेको हो कि भन्ने लाग्ला तर त्यो नभएको बताए । २५ बुँदे बृहत् शान्ति सम्झौता पछि अझ त्यसलाई निर्णायक विन्दुमा पुर्‍याउन बाँकी नै रहेको बेला लोकतन्त्र नै खतरामा परेकोले लोकतन्त्रलाई जोगाउन पनि गठबन्धन भएको उनले दाबी गरे ।

२०६२ ६३ को जनआन्दोलन पछिको उपलब्धि पछि हामीले बहुमतले जिताएर पठाएका प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएको विरुद्धको यो गठबन्धन भएको बताउँदै विश्वकर्माले भने विगतमा जसरी राजनीति सङ्कट परेको बेलामा प्रगतिशील लोकतान्त्रिक बाम शक्तिहरू ठिक एक ठाउँ बस्थ्यौ, ठिक त्यसै गरी एक वर्ष अघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपाल सहितको ५ दलीय गठबन्धन बनेको बताए ।

यो गठबन्धन बृहत् शान्ति सम्झौताका पक्षधरहरू एकातिर, विरोधीहरू अर्कातिर भएर कित्ताकाट भएको पूर्व मन्त्री विश्वकर्माले बताए । नेपालको बृहत् राजनीतिक उद्देश्य प्राप्तिको लागि, नेपालको बृहत्तर राष्ट्रिय हितका लागि, अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलनका लागि, नेपाली जनताको अधिकारको रक्षाका लागि र हामीले प्राप्त गरेका सबै उपलब्धिहरूका लागि, स्थायी उन्नति र प्रगतिका लागि यो गठबन्धन बनेको उनले बताए । 

त्यही अनुरूप धरानमा पनि ४ दलीय गठबन्धन बनेको बताउँदै विश्वकर्माले गठबन्धनका उम्मेदवारहरूलाई जितको शुभकामना पनि दिए ।