धरान : वैशाख ३० गते हुने चुनावमा धरानका वडाध्यक्षका उम्मेदवारहरूको सुत्केरी महिला, शिशुको हितका कार्यक्रम अघि सारेको पाइएको छैन। नेपालमा कुपोषणका कारण मातृ-शिशुको मृत्युदर उच्च छ। गरिब परिवारका महिलाले  सुत्केरी अघि र पछि हुँदा पोषणयुक्त खाना नपाउँदा मृत्यु दर बढेको हो। 
धरान वडा नं. ९ का उम्मेदवार रुपेश आचार्य यसमा ध्यानाकर्षण गर्ने पहिलो वडाध्यक्षका प्रत्याशी बनेका छन्। वडामा मानवीय सशक्तीकरणका लागि उनले निम्न आर्थिक अवस्था भएका गर्भवती महिलाहरू पहिचान गरी घरमै पोषणयुक्त खाना पुर्याउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । 
त्यति मात्र नभएर गरिब महिला सुत्केरी भएको अवस्थामा आमा र बच्चा दुवैलाई बचाउन पोषणयुक्त खाना खर्चका लागि १०,००० दश हजार रुपैयाँ सम्म आर्थिक सहयोग गरिने आचार्यले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । निम्न आर्थिक अवस्था भएका परिवारका मातृ-शिशुको जीवन बचाउने यो प्रतिबद्धता उदाहरणीय हो। 
प्रत्याशी आचार्यले वडाको आधुनिकीकरणका साथै ज्येष्ठ नागरिक, युवा, बालबालिका महिलाहरूका हितका लागि २३ सूत्रीय वडाको नीति तथा कार्यक्रम रहने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । २०७४ को वडाको चुनावमै जीतको नजिक पुगेको आचार्य केवल ४८ भोटले पछि परेका थिए । त्यसैले वडाका मतदाताहरूले अहिले भन्न थालेका ‘अब पालो रुपेश आचार्यको ।’    
विद्यार्थी राजनीति देखी वडाको राजनीतिमा आएका उनी वडा-९ मा परिचित युवा नेतृत्व हुन् । पदमा नरहँदा पनि सामाजिक सेवाको कार्यमा सक्रिय आचार्यले कोरोना महामारीमा वडा कार्यालयलाई ठुलो सहयोग पु¥याएका थिए। आचार्यले राहतका लागि जुटाएका खाद्यान्न, दैनिक उपभोग्य सामाग्री देखी औषधिहरू वडा कार्यालय मार्फत वितरण गरिएको थियो । उपमहानगरपालिकाको फुड बैङ्कमा वडाबाट छुट्टै सहयोग पनि जुटाएका थिए।
सामाजिक, धार्मिक गतिविधिमा सक्रिय आचार्य रेडक्रस सोसाइटी, कृष्ण प्रणामी मन्दिरमा अहिले पनि संलग्न छन्। विद्यार्थी राजनीतिकालमा नेविसंघका जिल्ला सदस्य रहेका उनी राजनीतिलाई समाज सेवाको रूपमा अङ्गीकार गरेर काम गर्ने हो भने मात्र भ्रष्टाचार न्यूनीकरण हुने बताउँछन्। आचार्य भन्छन् ‘राजनीतिकै लागि राजनीति गर्नेहरूका कारण जनताले दुःख पाइरहेका छन् ।’
उनको प्रतिबद्धता पत्र अनुसार धरानको खानेपानी समस्याबाट वडा ९ सङ्कटका अवस्थामा रहेकाले वडामा खानेपानी वितरण समान र सहज बनाइने छ। स्वास्थ्य सेवाका लागि वडामै स्वास्थ्य चौकी स्थापना गरिनेछ । बजार क्षेत्रको रूपमा विकास भएको वडा ९ लाई आधुनिकीकरण गर्न सडक बत्तीहरूमा भ्यापर लाइट जडान गरिनेछ। बालबालिकाका लागि बाल उद्यान निर्माण गरिने छ। युवाहरूका लागि सञ्चालनमा रहेका खेलकुद भवनलाई स्तरोन्नति गरिने छ।
वडाका गरिब जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न कक्षा १२ सम्मको शिक्षा वडा कार्यालयले जिम्मा लिनेछ। ज्येष्ठ नागरिक, गरिब, एकल महिला, अपाङ्ग वडावासीलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिने छ । वडा कार्यालयका कार्यहरूलाई पारदर्शी बनाइने आचार्यको प्रतिबद्धता उल्लेखनीय छन्।