धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो अढाई बर्षे कार्यकालमा भएका महत्त्वपूर्ण कामहरूको संक्षिप्त विवरण सार्वजनिक गरेका छन् ।

धरान उपमहानगरपालिकामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मेयर तिलक राईले आफ्नो अढाई बर्षे कार्यकालमा विभिन्न आरोह अवरोह सँगै विषम परिस्थितिका बाबजुद घेराबन्दीमा पर्दै निकै सफल काम गरेको दाबी गरे । उनले कोरोना महामारीका बाबजुद पनि धरानको विकास र समृद्धिमा आफू निरन्तर लागि परेको बताए । धरानका विभिन्न ठाउँमा करिब २० किलो मिटर कालोपत्रे सडक निर्माण र सोही बराबरको सडकको ट्र्याक खन्ने काम भएको बताए । 

आर्थिक वर्ष २०७६/०७८ देखि २०७८/०७९ वैशाख ३० सम्म धरान उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रमा भएका महत्त्वपूर्ण कामहरूमा अहिले सम्म धरानमा ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न भई उद्घाटन भई सेवा संचालमा रहेको अढाई बर्षे कार्यकालमा भएका महत्त्वपूर्ण कामहरूको संक्षिप्त विवरणमा उल्लेख छ । धरान ६, ११, १३, १४, १५, १७ भवन बनेर संचालनमा आइसकेको र ४, ८, १६ मा भवन निर्माणको क्रममा रहेको जनाइएको छ । 

धरानमा कोरोना महामारीबाट २ सय ३४ जनाको मृत्यु भएको र अहिले सम्म १ लाख २१ हजार ५ सय ९३ जना १२ वर्ष माथिका उमेर समूहका नगरबासीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

यसैगरी महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई स्वास्थ्य बिमा, सहुलियतको व्यवस्था भएको, अवकाश हुँदा २ लाख प्रोत्साहन स्वरूप दिने सुरुवात गरेको, विष्णुपादुका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापना गरी सञ्चालनमा रहेको, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव व्यवस्थापनका लागि डेडबडी रेफ्रिजेरेटर खरिदको प्रक्रिया अगाडी बढेको पनि अढाई बर्षे कार्यकालमा भएका महत्त्वपूर्ण कामहरूको संक्षिप्त विवरणमा उल्लेख छ ।

यसैगरी धरानको खानेपानीको बारेमा आफूले उपनिर्वाचनमा निर्वाचित भएर मङ्सिरमा पदस्थापन भएको र पुसमा आयोजनाको समय सकिएको बताउँदै मेयर राईले कार्यपालिका र नगरसभामा प्रतिपक्ष दलको निरन्तरको दबाबका कारण ठेकेदारलाई परीक्षण र आयोजना कार्यान्वयनका लागि संस्थानको कार्य क्षेत्र हस्तान्तरण गरिएको विवरणमा उल्लेख गरिएको छ ।

मेयर तिलक राईले उपमहानगर कार्यपालिकाको प्रतिनिधित्वलाई हेर्दा अत्यन्त अल्पमतमा रहेको र आफ्नो उपस्थितिको नेतृत्व ज्यादै चुनौतीपूर्ण र कठिन यात्रा भएको पनि बताए । यस्तो अवस्थामा पनि नगरको विकास र समृद्धिको लागि विना आग्रह पूर्वाग्रह नेतृत्व गर्ने निर्णय गरी दृढ सङ्कल्पका साथ अगाडी बढेको बताउँदै कोरोनाले आक्रान्त बनाएको कहाली लाग्दो परिस्थितिका कारण महत्त्वपूर्ण समयहरू कोभिडको प्रतिरक्षाका लागि आवश्यक समय, ऊर्जा र बजेट खर्चिनु परेको बताए । 

सबै खाले राजनैतिक चुनौतीलाई संयमताकाबिच व्यवस्थापन गरी धरानलाई निकास दिने पहल कदमीको नेतृत्व गर्ने अवसर आफूले प्राप्त गरेको मेयर राईले बताए । उनले आगामी दिनमा पनि धरान उपमहानगरबासीको सेवामा सदैव समर्पित रहने प्रतिबद्धता जनाए ।