धरान : धरानको चारकोशे जङ्गलमा रहेको खानेपानी उत्पादन गर्ने दुई वटा पम्पिङ बेल बिग्रिएको कारण पानी उत्पादनमा समस्या भएको छ।

धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार चारकोशे जङ्गलमा रहेको बेल नं. ४ र ७ बिग्रिएको छ। उक्त क्षेत्रमा तत्कालीन खानेपानी संस्थानको चार वटा बेल हाउस छन् । बेल हाउसको संरचनाहरू जीर्ण छन्। चार वटा मध्ये दुई वटा बेल हाउस बिग्रेको थियो।

बेल नं. ४ को मर्मत कार्य सम्पन्न भइसकेको र बेल नं. ७ को मर्मत कार्य निरन्तर रूपमा भइरहेको पोखरेलले बताए। साथै, उनले बुस्टिङ गर्ने बुस्टर पम्प बिग्रिएको कारणले पनि खानेपानी उत्पादनमा समस्या भएको बताए । बेल नं. ७ को मर्मत कार्य सम्पन्न भएपछि बुस्टर पम्पको पनि मर्मत गरिने उनले बताए। 
विगत एक साता अघिदेखि पुरानो संरचनाको पम्पिङ बेल नं. ४ र ७ को पम्प बिग्रेको र नयाँ संरचनाको एउटा बुस्टर पम्प बिग्रेको कारण उत्पादनमा कमी भई वितरणमा समस्या भएको उनको भनाई छ।
उनले मर्मत कार्य निरन्तर रूपमा भइरहेको र चाडै मर्मत गरेर उपभोक्ताहरूमा सहज ढङ्गबाट खानेपानी वितरण गरिने जानकारी दिए । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राईले मङ्गलवार राति बिग्रिएको बेल हाउस र बुस्टरको निरीक्षण तथा अनुगमन गर्न पुगेका थिए । अनुगमनका क्रममा मेयर राईले चाँडै मर्मत कार्य सम्पन्न गर्न समेत निर्देशन दिए ।
khanepani-marmat-3