इटहरी : इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। नेकपा एमालेका यामकुमार सुब्बालाई पछि पार्दै उनले सुरुवात देखी नै अग्रता कायम गरेका हुन्। 
हालसम्म ४३ हजार २ सय ४१ मतगणना हुँदा पौडेलले १९ हजार ९सय २४ मत पाएका छन् भने सुब्बाले १६ हजार ८ सय ३० मतमा पाएका छन् । एमालेको प्रभावशाली क्षेत्रमा पनि पौडेलले अग्रता लिएपछि मतान्तर फराकिलो बन्दै गएको हो । सबैभन्दा बढी मत भएको २, ४ र ५ नम्बर वडामा पौडेलले अग्रता लिएका छन् । वडामा प्रभावकारी नतिजा निकाल्न नसकेको काँग्रेस यस पटक मेयरमा भने इतिहासमै पहिलो पटक खाता खोल्ने विश्वासमा छ । 
२०७४ सालको निर्वाचनमा ८ वडा सहित उपमहानगरपालिकाको मेयर उपमेयर दुवैमा विजयी भएको एमालेले यस पटक मेयर पद गुमाएर वडाको नेतृत्व बढाउने देखिएको छ । हालसम्म १, २, ३, १९ र २० नम्बर वडाको नजिता फाइनल भएको छ । त्यसमध्ये १ र २० मा काँग्रेस र बाकी वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । 
उता उपमेयरमा भने नेकपा एमालेकी सङ्गीता चौधरीले अग्रता फराकिलो बनाउँदै लगेकी छिन्। गठबन्धनका उम्मेदवार केशव कुमार विष्टलाई पछि पार्दै उनले उपमेयरको बाटो सुनिश्चित गरेकी हुन् । चौधरीले १९ हजार २ सय ६३ मत पाउँदा विष्टले ११ हजार ५ सय मात्र पाएका छन् ।