धरान : नयाँ निर्वाचित भई आउने नगर प्रमुखकालागि बिहीबार देखी धरान उपमहानगरपालिका कार्यालयको कुर्सी खाली गरिएको छ । मेयर तिलक राईले बिदाइ ज्ञापन कार्यक्रम आयोजना गरी नगर प्रमुख सहितका नयाँ निर्वाचित जनप्रतिनिधिहरूका लागि नगर प्रमुख सहितका पुराना जनप्रतिनिधिका पद खाली भएको घोषणा गरेका हुन् । नवनिर्वाचित जनप्रतिनिधिहरूले पद बहाली नगरे सम्म शुक्रवार देखी उपमहानगरपालिका कार्यालयको दैनिक काम कारबाही कर्मचारीहरूबाट सञ्चालन हुनेछ।
चुनावमा प्रत्याशी हुन राजीनामा दिएका बाहेक वडाध्यक्ष बहाल रहेका ७ जना वडा अध्यक्षले पनि बिहीबारदेखि उपमहानगर कार्यपालिकाबाट बिदाइ लिएका छन् । निर्वाचन आयोगले २०७४ सालको चुनावमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने जानकारी गराएकाले सोही अनुसार बिदाइ ज्ञापन गरिएको बताउँदै मेयर राईले भने ‘हामी बहाल रहेकाहरूले नयाँ नगर प्रमुख, उपप्रमुख निर्वाचित जनप्रतिनिधिहरूलाई पद बहाल गराई बिदा लिने सोचेका थियौँ तर नियमले त्यसो गर्न दिएन।’
मेयर राई भने तत्कालीन नगर प्रमुख तारा सुब्बा निधन भएको डेढ वर्ष पछि उपचुनावबाट निर्वाचित भएका हुन्। उपमहानगरपालिकामा दुई तिहाइ भन्दा बढी विपक्षी दलको बहुमत भए पनि सहमति र सहकार्यमा आफ्नो अढाईवर्से कार्यकालले निर्विवाद पूर्णता पाउनु नयाँ आउने जनप्रतिनिधिहरूका लागि उदाहरणीय विषय बन्न सक्ने उनले बताए । उनले भने 'सहमति सहकार्य नभए धरानको विकास र निर्माणका कार्यहरू अवरुद्ध बन्न सक्ने र धरान पछि पर्ने अवस्था आउन सक्छ ।'
अल्पकालीन कार्यकालका कारण खानेपानी जस्तो धरानको मुख्य योजनालाई पूर्णता दिएर समस्या समाधान गरेर देखाउने अवसर नपाएको बताउँदै उनले भने ‘पाँच वर्षको पुरा अवधि काम गर्न पाएको भए, उपमहानगरपालिकाले अघि बढाएको प्रायः सबै योजनाहरू परिणाममुखी अवस्थामा पुर्‍याउन सक्न्थ्यिो भन्ने अहिले मलाई लागेको छ ।’ दिवङ्गत तारा सुब्बाको कार्यकालमा कानुनहरू बनाउने केही कामहरू भएको उल्लेख गर्दै मेयर राईले भने ‘डेढ वर्ष कार्यवाहक नदिई तत्कालै चुनावबाट आउन पाएको भए पनि कमसेकम खानेपानीको काम पुरा सकिन्थ्यो ।’ सुब्बाको निधनपछि उपप्रमुख मञ्जु भण्डारी डेढ वर्ष कार्यवाहक नगर प्रमुख भएकी थिइन् ।
मेयर राईले आफ्नो कार्यकालमा भ्रष्टाचार रोक्ने, विकास निर्माणका योजनाहरू लागत स्टमेट भन्दा घटिका सम्पन्न गर्ने, ठेक्का लगाउने काम भएकाले अनियमितताका गन्ध सम्म नआएको कुरा सन्तोषको विषय भएको बताए । लामो समय विवाद र बजेटको अभाव भई रोकिएको बसपार्कको योजना परिमार्जन गरेर भए पनि कार्यान्वयनमा ल्याइएको बताउँदै एयर पार्टको कुरा भने पटक पटक उठाएर धरानवासीलाई भ्रममा राख्न नहुने उनको भनाई छ । मेयर राईले भने ‘सरकारको नीति निर्माण तह यो एयरपोर्टका विपक्षमा छ, त्यसमा बल गर्नु जनतालाई भ्रममा राख्नु मात्र हुनेछ ।’
सङ्घीय गणतन्त्र आएपछि तिन तहको सरकारले घर घरमा सिंहदरबार पुर्‍याउने भनिए तापनि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकार जस्तो अधिकार सम्पन्न नगरिएको आफ्नो अनुभव उनले सुनाए । मेयर राईका अनुसार स्थानीय सरकार भनिए पनि प्रदेश र सङ्घीय जस्तो सरकार बनाउने अधिकार नगरपालिकालाई नहुँदा विकास, निर्माण, नीति निर्माण र कार्यान्वयन गतिशील बनाउन नसकिएको अवस्था छ । उनले भने ‘त्यसलाई कार्यान्वयन गर्न मेयरले कार्यपालिका सदस्यहरू मध्येबाट ७ जनाको स्थानीय सरकार बनाउन पाए कामको जिम्मेवारी बाँडफाँड भई तीव्रता पाउन सक्थ्यो ।’ आफूले इमानदार, परिणाममुखी काम गर्ने नगर प्रमुखको रूपमा काम गरेको बताउँदै नगरपालिकाको अनुभव अझै पनि धरानको विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
बिदाइ ज्ञापन कार्यक्रममा धरान-२ का निवर्तमान वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, वडा ११ का बाबुलाल लामा, महिला सदस्य हिरादेवी राई सल्लाहकार आनन्द आचार्य लगायतले अनुभव सुनाउँदै मेयर तिलक राईको कार्यकाल उदाहरणीय रहेको बताए । सोही अवसरमा उपमहानगरपालिकाबाट धरानको इतिहास र वर्तमान झल्काउने विभिन्न पक्षमा प्रकाश परिएका खोजमूलक लेखहरूको पुस्तक 'धरान निरूपण' मेयर राई र पुस्तकका प्रधान सम्पादक प्रा.डा. टङ्कप्रसाद न्यौपानेले विमोचन गरेका थिए ।