धरान : धरानमा ३७ हजार ९ सय ७३ मतगणना हुँदा सम्म स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राई भन्दा १०८८ मतले फराकिलो अग्रता कायम गरेका छन् । 

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार मेयरका लागि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ११४८० मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले १०३९२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ८४६८ मत प्राप्त गरेकी छिन् ।

यसै गरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादीका आइन्द्र विक्रम बेघाले ११९३८ मत प्राप्त गरेर अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ११४०२ मत प्राप्त गरेका छन् । 

अहिले सम्मको मत गणनाको नतिजा हेर्ने हो भने धरानको मेयरका लागि हर्क साम्पाङ र किशोर राई बिच १ हजार ८८ मतान्तर छ भने किशोर राई र मञ्जु भण्डारी बिच १९२४ मतान्तर रहेको छ भने हर्क र मञ्जु बिच ३०१२ मतान्तर रहेको छ । उपमेयरमा आइन्द्र विक्रम बेघा र पदम इस्बो लिम्बु बिच ६३६ मतान्तर रहेको छ । 

धरान १३ मा नेकपा एमालेका नेत्रप्रसाद काफ्ले, धरान १४ मा राप्रपाबाट कृष्णप्रसाद भट्टराई र धरान ११ बाट नेपाली काँग्रेसबाट लोकेन्द्र फागोले अग्रता कायम गरेका छन् । 

धरान १३ मा १६ सय मतगणना हुँदा नेत्रप्रसाद काफ्लेले ६८५ र नेपाली काँग्रेसका पेम्बा तामाङले ४९६ मत प्राप्त गरेका छन् । 

यसै गरी धरान १४ मा १५ सय मत गणना हुँदा राप्रपाका कृष्णप्रसाद भट्टराईले ६२२, नेकपा एमालेका उत्तम आले मगरले ४७४ र नेपाली काँग्रेसका श्याम श्रेष्ठले २१३ मत प्राप्त गरेका छन् । 

यस्तै धरान ११ मा अहिले सम्म नेपाली काँग्रेसका लोकेन्द्र फागोले ७४०, नेकपा एमालेका किरण राईले ७२१ र नेकपा माओवादी केन्द्रका जीवराज राईले ४३८ मत प्राप्त गरेका छन् ।