धरान : सुनसरीको धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

झापाको चन्द्रगढी घर भई हाल धरान-१४ हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीलाई २५ वर्षीय छोरा सौगात सुवेदीले गत शनिवार दिउँसो साढे १ बजे धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

उक्त घटनामा घाइते भएकी सुबेदीलाई तत्काल उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । बीपीमा उपचार हुन नसकेपछि थप उपचारको लागी विराटनगरको न्युरो अस्पताल लगिएको थियो ।

न्युरो अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाह अनुसार घर फर्काउने क्रममा आज दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संलग्न रहेका मृतकका छोरा सौगात सुबेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।