धरान : धरानको खानेपानी मुहान क्षेत्र आपगाछी मोडमा नगर प्रहरी र प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ । 

आपगाछी क्षेत्र धरान भेडेटार सडक खण्ड क्षेत्रमा पर्ने र खानेपानीको मुहानमा फोहोर हुने भएकोले सोमबार देखि संयुक्त सुरक्षा टोली परिचालन गरिएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । आइतबार खानेपानी मुहान क्षेत्रमा फोहोर सङ्कलन गरियो, सोमबार देखि दैनिक २ सिफ्टमा तीन जना नगर प्रहरी र १ जना नेपाल प्रहरी रहने गरी ६ जनाको टोली परिचालन गरिएको छ । 

आपगाछी देखि नजिकै रहेको खानेपानीको मुहानमा युवा युवतीहरू पुगेर जथाभाबी फोहोर गर्ने, मानिसको समूह पुगेर नुहाउने, लुगा धुने, पौडी खेल्ने र घाँस दाउरा गर्ने भएकोले खानेपानीको मुहान फोहोर भएको थियो ।

Nagar-Prahari-2

खानेपानीको मुहान फोहोर भएपछि नगर प्रहरीले खानेपानीको मुहान सँगै अव देखि सो क्षेत्रमा मानिस आउजाउमा समेत रोक लगाएर संयुक्त सुरक्षा टोली परिचालन गरिएको नगर प्रहरी प्रमुख कोइरालाले बताए । अझ आपगाछी क्षेत्रमा सवारी साधन रोकेर दिशा पिसाव गर्ने गराउने यातायात व्यवसायीले गर्दै आएकोमा अव देखि सो क्षेत्रमा त्यस्तो कार्य गर्नमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

कोही कसैले अटेर गरेमा कडा भन्दा कडा कारबाही गरिने पनि नगर प्रहरी प्रमुख कोइरालाले बताए । अव देखि खानेपानीको मुहान क्षेत्रमा कडाइ गरिनुका साथै नियमित संयुक्त सुरक्षा टोलीले डिउटी गर्ने बताइएको छ । 

Nagar-Prahari