धरान : जेठ १२ गते धरान-५ तल्लो देउरालीको सुन्दर बस्ती छेउ सेउती खोला बगरमा मृत अवस्थामा भेटिएका धरान-११ का सन्दीप लम्जेलको हत्यामा संलग्न दुई जनालाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

लम्जेललाई धनकुटाको सागुरीगढी गाउँपालिका-८ घर भई हाल धरान-१५ बगरकोटको भेटघाट सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय नाबालक र अर्को पनि सोही सेकुवा कर्नरमा काम गर्ने १५ वर्षीय बालकद्वारा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई दुवै जनालाई घटना घटेको भोलिपल्ट जेठ १३ गते नै धरान प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेका दुवै नाबालक भएकोले उनीहरूलाई सार्वजनिक ढिलो गरी गरिएको हो। लम्जेलले आफूसँग शारीरिक सम्बन्ध राख्ने युवती खोज्न भनेको र नखोजिदिएको भन्दै लम्जेलले गाली गलौज गरेको रिसका कारण उनीहरुले लम्जेलको हत्या गरेको प्रहरीले जनाएको छ।उनीहरूले काम गर्नै आएको सेकुवा कर्नरबाटै छुरी लगेर गर्धनमा काटेको र शरीरको विभिन्न भागमा घोचेर मारेको स्वीकारेका छन् ।  लम्जेलको मृत्यु भए पछि पनि उनको अनुहारमा ढुङ्गाले किचाएर खोलाको बगरमा घोप्टो पारेर छाडेका थिए । 

दुई जना मध्ये एक जनालाई धनकुटाको छिन्ताङबाट र अर्को एक जनालाई धरानबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका व्यक्तिहरू दुबै जना नाबालक रहेको हुँदा निजहरूको हकमा गोपनीयता कायम गरी नाम परिवर्तन गरेर अनुसन्धान गर्नको लागि सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता-२०७४ को ज्यान सम्बन्धी कसुरमा दिन ५ (पाँच) म्याद थप अनुमति लिएर अनुसन्धान प्रहरीले गरिरहेको छ।