दमक : झापाका १५ पालिकाका लागि कूल ७ अर्ब ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ। सङ्घीय सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो। यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको छ।
मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । यस्तै सबैभन्दा थोरै बजेट हाल्दिबारी गाउँपालिकाको रहेको छ। राप्रपाले जितेको यो गाउँपालिकाको बजेट ३० करोड ९९ लाख रुपैयाँ रहेको छ।
यसैगरी अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको छ। कनकाई नगरपालिकाको लागि ३५ करोड ७६ लाख, गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, दमक नगरपालिकाको लागि ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख विनियोजन भएको छ। यस्तै भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ ।
यस्तै गाउँपालिकाहरूमा कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख, गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। यसैगरी झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
विनियोजित बजेटहरू न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान, कार्यसम्पादनमा आधारित अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी वर्गीकरण गरेर विनियोजन गरिएको हो। कार्यसम्पादनको आधारमा झापामा सबैभन्दा बढी बजेट गौरीगञ्ज गाउँपालिकाले प्राप्त गरेको छ। कार्यसम्पादन मार्फत मात्रै यो गाउँपालिकामा ५९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
दोस्रोमा शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको समान अङ्क रहेको छ। यी दुवै पालिकाले ५६ लाख रुपैयाँ कार्यसम्पादनका आधारमा थप बजेट पाएका हुन्।