झापा : झापामा नेपाली काँग्रेसका १४ 'बागी' नेता तथा कार्यकर्तालाई झापा काँग्रेसले कारबाहीका लागि सिफारिस गरेको छ। स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र ती उम्मेदवारहरूको प्रस्तावक र समर्थक गर्ने १४ जना कारबाहीमा परेको काँग्रेस झापाका सभापति देउकुमार थेबेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड-४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल, कनकाई नगरपालिका-९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य पदमा उठ्ने भूमिप्रसाद पराजुली, फूलकुमार राजवंशी र उनीहरूका प्रस्तावक र समर्थक रहेका छन्। 
पराजुलीका प्रस्तावक लैनवहादुर थापा, राजवंशीका प्रस्ताव कमलबहादुर थापा र समर्थक नरेन्द्रवहादुर बुढाथोकीको हकमा यसअघि नै पार्टी केन्द्रमा कारबाहीका लागि सिफारिस भइसकेको विज्ञप्तिमा उल्लेख छ । 
नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा १३ (ग) र मिति २०६९ वैशाख १६ र १९ को नेपाली काँग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार झापा जिल्ला कार्य समितिले मिति २०७९-१-२४ गते नै बागी उम्मेदवार र प्रस्तावक र समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ ।
jhapa-congress-baghi-karbah