विराटनगर : पहिरो पीडितको अवस्था बुझ्न र राहत सामग्री उपलब्ध गराउन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की नेतृत्वको सरकारी टोली ताप्लेजुङ पुगेको छ । 

नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षा अधिकारी सहितको उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगाम आइतबार अपरान्ह ताप्लेजुङ पुगेका हुन् । ताप्लेजुङ मन्त्री हाङगामको गृह जिल्ला पनि हो । 

असार २ गते श्रीजंगा गाउँपालिका वडा नम्बर ८ को खेवाङमा गएको पहिरोमा पुरिएर स्थानीय तुलसा अधिकारी र यशोदा अधिकारीको मृत्यु भएको थियो । घटनामा घाइते विष्णु अधिकारीलाई सरकारले हेलिकोप्टरबाट उद्धार गरी विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलको प्रत्यक्ष निरीक्षण गर्न र पहिरोबाट विस्थापितहरूलाई प्रारम्भिक राहत उपलब्ध गराउन ताप्लेजुङ पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जानकारी दिएका छन् ।

“प्रारम्भिक रूपमा हेर्दा पहिरोबाट स्थानीयलाई निकै ठुलो सास्ती भएको देखिएको छ । हामीले साथै ल्याएका तत्काल चाहिने खाद्य सामग्री वितरण गर्दैछौं,” मन्त्री कार्कीले भने,“प्रदेश राजधानीबाट अरू आवश्यक सामग्री ट्रकमा लोड गराएर हिँडिसकेको छ । आईपुग्नासाथ आवश्यकताअनुसार थप राहत उपलब्ध गराइने छ ।” पहिरोबाट पचासभन्दा धेरै परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । 

बाढीबाट गाउँपालिकामा अवस्थित विद्युत पावर हाउस बगाएको छ । फक्ताङ्लुङ गाउँपालिकामा पनि पहिरोले असर गरेको छ । ताप्लेजुङका अन्य भागमा पनि लगातारको वर्षापछि आएको पहिरोले असर गरेको छ । ताप्लेजुङको चाखु बस्तीमा ४० परिवार खानेपानी विहीन भएका छन् । तीन घर पूर्ण क्षति भएको छ भने २२ घर बस्न नहुने भएको बताइएको छ । ५० घरमा अर्ध क्षति भएको छ । ताप्लेजुङका पहिरो पीडितलाई राहत उपलब्ध गराउन आइतबार प्रदेश सभाको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गरेका थिए ।