झापा : झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्षको योजना तर्जुमा तथा बजेटमा समेट्नु पर्ने विषयमा नगरका विभिन्न सङ्घ संस्था तथा अगुवा नागरिकहरू सँग सुझाव सङ्कलन सुरु गरेको छ। नगरपालिकाले सोमबार पत्रकारहरूका साथै विभिन्न सङ्घ संस्थाका प्रमुखहरू सँग आगामी वर्षको बजेटमा समेट्नु पर्ने विषयहरूको सुझाव मागेको हो । 
बजेट तथा योजना तर्जुमा समिति संयोजक तथा नगर उप प्रमुख रेगिना भट्टराईको अध्यक्षतामा सोमबार बिहान नगर क्षेत्र भित्र रहेका पत्रकारहरू सँग सुझाव मागेको थियो । कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, सक्रिय पत्रकार सञ्जालका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी केन्द्रीय सदस्य टिकाराम उप्रेती, पत्रकारहरू कृष्ण कार्की, गोपाल झापाली लगायतले सुझाव राख्दै नगरपालिका सञ्चारमैत्री हुनु पर्ने सुझाव दिएका थिए । 
त्यसै गरी बजेट तथा योजना तर्जुमा समितिले आजै नगर भित्र रहेका राजनैतिक दलका अगुवा साथै सङ्घ संस्थाका प्रमुखहरू सँग छलफल गरेको छ । छलफलमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दमकका अध्यक्ष रोशन गौतम, महिला नेतृ ईक्सा सम्बाहाम्फे, दमक क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकी लगायतले सुझाव दिएका थिए ।
कार्यक्रमका अध्यक्ष समिति संयोजक तथा नगर उप प्रमुख रेगिना भट्टराई, नगर प्रमुख राम थापा, प्रमुख प्रशासकीय अधिकृत शशी राईले सबैका सुझाव समेटेर आगामी वर्षको बजेट बताए ।