इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नेपाली काँग्रेसका नेता कार्यकर्ता सँग भेटघाट गरेर सुझाव सङ्कलन गरेका छन् । बजेट नीति तथा कार्यक्रम तयार भइरहेको बेला उनले पार्टीका नेता कार्यकर्ता सँग परामर्श लिएका हुन् । 
पार्टीकै उम्मेदवार भएर विजयी भएपछि पार्टी प्रतिको जिम्मेवारी पुरा गर्ने दायित्व बोध भएकाले सुझाव सङ्कलन गरेर बजेट नीति तथा कार्यक्रममा समेट्ने प्रयास गरेको उनले बताएका छन् । घोषणा पत्रमा छुटेका वडा स्तरका समस्यालाई सुझावको रूपमा ग्रहण गरिएको उनले प्रष्ट पारे । 
पार्टीका नेताहरूले बारम्बार आफूलाई सम्झाउनुपर्ने भन्दै उनले जनप्रतिनिधिलाई रचनात्मक सुझाव दिएर सफल बनाउन तिर लाग्न आग्रह गरे । मेयर पौडेलले ५ वर्ष भित्र काँग्रेसका सम्पूर्ण नेता कार्यकर्तालाई गर्व गर्न लायक काम गरेर देखाउने बाचा गरेका छन् ।
पूर्व वडाध्यक्ष, पार्टीका वडा सभापतिहरू, नगर समितिका पदाधिकारी लगायतको भेलाले डुबानको समस्या समाधान गर्न जोड दिए । त्यस सँगै स्वास्थ्य क्षेत्रमा देखिएको अस्पतालको समस्यालाई पनि समाधान गर्न उनीहरूले आग्रह गरे ।