धरान : धरान-१४ विजयपुरका आनन्द प्रसाद अधिकारीको गुमेको आँखाको दृष्टि फर्किए पछि औधी खुसी छन् ।

निकै लामो समय देखि मोतिविन्दुको कारण आँखाको दृष्टि गुमाएका उनले मोतिविन्दुको अप्रेसन पछि फेरि आँखा देख्न पाएकोमा दङ्ग छन् । आँखाको मोतिविन्दुको अप्रेसन इटहरी आँखा अस्पतालमा गरेर आएपछि उनी घर भन्दा पहिले धरान-१४ को वडा कार्यालय पुगे । वडा कार्यालयमा पुगेर नवनिर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई धन्यवाद भन्दै आर्शिवाद दिए । यदि वडाले यसरी निःशुल्क आँखा शिविर सञ्चालन नगरेको भए आफ्नो गुमेको आँखाको ज्योति फर्किने थिएन । 

यस्तै डिल्लीबहादुर श्रेष्ठ पनि आँखाको ज्योति फर्किएकोमा अत्यन्तै खुसी भएको बताए । वडाध्यक्षलाई धन्यवाद मात्रै होइन कहिल्यै नभुल्ने गुण लगाएको बताउँदै उनले पनि वडा कार्यालय र वडाध्यक्षलाई आर्शिवाद पनि दिए । 

असार ४ गते शनिवार २८९ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । धरान उपमहानगरपालिका १४ नम्बर वडा कार्यालयको आयोजना र नेपाल नेत्र ज्योति सङ्घ इटहरी शाखाको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच उपचार तथा चस्मा वितरण शिविरमा आँखा परीक्षण गरिएकोमा ३१ जना मोतीबिन्दु र ३ जनाको आँखाको जालो काट्ने शल्यक्रिया भएको छ । 

आँखा शिविरमा आँखा परीक्षण पछि ५१ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने आँखा परीक्षण पछि औषधी समेत वितरण गरिएको थियो । यो कार्यक्रम विगतमा पनि वडा कार्यालयले नियमितरुपमा गर्दै आएको थियो । कोरोना महामारीको कारण विगतका वर्षहरूमा आँखा शिविर हुन नसकेको बताउँदै वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले अब यो कार्यक्रमलाई निरन्तरता दिने बताए । 

स्थानिय तहको निर्वाचन पछि नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेपछि पहिलो पटक भएको निःशुल्क आँखा शिविरको ज्येष्ठ नागरिकहरूले अत्यन्तै प्रशंसा गरेका छन् । उमेर ढल्किँदै जाँदा आँखाको ज्योति पनि गुम्दै जाने भएकोले ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर आयोजना गरिएको नि:शुल्क आँखा शिविरले १४ नम्बर वडाबासी लाभान्वित भए । यस्तो कार्य सधैँ भइरहनु र गरिरहन ज्येष्ठ सदस्यहरूले वडाध्यक्षलाई अनुरोध पनि गरेका छन् ।