धरान : धरान उपमहानगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकमा टेबल ठोकाठोक भए पछि बैठक भाँडिएको छ । 

११ औँ नगरसभाको पूर्व सन्ध्यामा बिहीबार बिहान ८ बजे देखि सुरु हुने भनिएको बैठक अलि ढिलो गरी सुरु भएको थियो । बैठकमा नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित भयो । तर सामाजिक विकास समितिमा यस भन्दा अघि १ करोड बजेट छुट्याउने भनिएको थियो ।

तर बैठकमा सिलिङमा त्यो देखिएन र हिजो १ करोड भनिएको ७५ लाख मात्रै भनिए पछि बैठकमा सामाजिक विकास समिति संयोजक सिर्जना नेपालले टेबल ठोक्दै २५ लाख पैसा कहाँ गयो ? सिलिङमा किन देखिएन भन्दै टेबल ठोके पछि १७ नम्बर वडाध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका सूर्यबहादुर भट्टराईले हामीलाई पनि टेबल ठोक्न आउँछ, एउटा हातले किन हाम्रो पनि दुई हात छन् भन्दै टेबल ठोकेपछि बैठकमा विवाद भएको थियो ।

त्यसपछि मेयर र उपमेयर कोषमा छुट्याको मेयर कोषको १ करोड २० लाख र उपमेयर कोषमा ८० लाख छुट्ट्याएको विषयलाई लिइएर ७ नम्बर वडाध्यक्षले मेयर र उपमेयर कोष छुट्टाछुट्टै नभएर एउटै कोष हुनुपर्ने भनेपछि यसमा पनि विवाद भएको थियो । विनियोजन विधेयकका केही बुँदाहरूमा सहमति हुन नसकेपछि मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघा गाडीमा चढेर धरान उपमहानगरपालिका देखि बाहिरिएका थिए । यसैगरी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू पनि आन्तरिक छलफल गर्न भन्दै बैठक स्थलबाट बाहिरिएका थिए । 

स्वतन्त्रबाट निर्वाचितहरू, नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष र राप्रपाबाट निर्वाचित वडाध्यक्षसँगै उपमहानगरका महाशाखा प्रमुखहरू र कार्यकारी अधिकृत, वरिष्ठ प्रशासकीय अधिकृत साँझ सम्मै बाहिरिएकाहरू बैठकमा फर्किएर आउने आशामा बसेका थिए । तर उनीहरू फर्किएर नआएपछि उनीहरू पनि त्यतिकै केही घोषणा नगरी आ-आफ्नो बाटो लागे ।

नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरी नगरसभामा पेस गर्ने गरी बैठकले निर्णय गरिसकेकोले शुक्रवार धरान उपमहानगरपालिकाको ११ औँ नगरसभा हुने धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए । सबै एजेन्डाहरू माथि छलफल भइसकेकोले विनियोजन विधेयकका केही बुँदाहरूमा मात्रै सहमति नभएकोले आवश्यक परे शुक्रवार बिहान कार्यपालिका बैठक बस्न सक्ने अधिकृत खतिवडाले बताए ।

यसैबिच बिहीबारको कार्यपालिका बैठक भाँडिएर छलफल हुन नसकेको बारेमा मेयर हर्क साम्पाङले आफ्नो एजेन्डाहरू फेसबुक मार्फत सार्वजनिक गरेका छन् । मेयर साम्पाङले बुँदागतरुपमा लेखेका छन् :

१. यातायात नवीकरण कार्यालयको शाखा धरानमा पनि माग्ने ।

२. हप्ताको शुक्रवार जातीय मौलिक पोसाक लगाएर विद्यार्थीहरू स्कुल जान पाउनु  पर्ने ।

३. राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्ने ।

४. सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गर्ने ।

५. सहयोग गर्न चाहने दाताका लागि सरकारी खाता खोल्ने÷चलाउने ।

६. सर्दु जलाधारको बारेमा टुङ्गो लगाउने । 

यसै गरी मेयर साम्पाङले शुक्रवारको ११ औँ धरान उपमहानगरपालिकाको नगर सभामा बजेट विनियोजन विधेयक विना नै नगरसभा गर्नुपर्ने बाध्यता देखियो , जे होस जय धरान भन्न चाही छोडिन्न भनेर फेसबुकमा लेखेका छन् ।