दमक : दमक नगरपालिकाले नगर भित्रका अति विपन्न नागरिकको पहिचान गरी नगर सहुलियत कार्ड वितरण गर्ने भएको छ । नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँले शुक्रवारको नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरभित्रका अति विपन्न नागरिकको पहिचान गरी सहुलियत कार्ड मार्फत विभिन्न सेवा प्रदान गर्न लागेको जनाइएको छ । 

गरिबी न्यूनीकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा दमक नगरपालिकाभित्र स्थायी बसोबास गरेका अति विपन्न परिवारलाई नगर सहुलियत कार्ड मार्फत शिक्षा, स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । नगरका कोही पनि नागरिकहरू भोकै नपरून् भनेर अति विपन्न परिवारको पहिचान गरी सहुलियत प्रदान गर्न लागिएको नगर प्रमुख राम थापाले जानकारी दिए । 
यसका लागी नगर भित्रका कम्तीमा ३ सय अति विपन्न परिवार छनौट गरी परिवार सङ्ख्याको आधारमा तोकिएको मापदण्ड बमोजिम दैनिक उपभोग्य वस्तु वितरण गरिने नगर प्रमुख थापाले बताए । दैनिक उपभोग्य बस्तुमा चामल, पिठो, दाल, नुन र तेलमा सहुलियत दिनका लागि नगरपालिकाले तोकिएको पसलबाट सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि उहाँले जानकारी दिए । साथै उनीहरूलाई सीप, क्षमता विकास र रोजगारसँग सम्बन्धित कार्यक्रमहरूमा प्राथमिकता दिइने नीति लिइएको पनि उनले बताए ।
damak-budget-2079