धरान : निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गइरहेको छ । 

मंगलबार राति १० बजे सप्तकोशी नदीको बहाव १ लाख २८ हजार ५ सय ३० क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । मंगलबार बिहानको तुलनामा सप्तकोसीको पानीको बहाव बढ्दै गइरहेको छ । पानीको बहाव बढेसँगै १९ वटा ढोका पनि खुल्ला गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 

पहाडी क्षेत्रमा निरन्तर वर्ष भइरहेकोले पानीको बहाव अझै बढ्न सक्ने भन्दै सप्तकोसीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । 

मंगलबार बिहानै देखि सुनसरी जिल्लाको बाढी र डुबानको जोखिम क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले अनुगमन गरेको थियो । 

सुनसरीको नदी र खोलामा पानीको बहाव उच्च: 

निरन्तरको वर्षाको कारण सुनसरीका विभिन्न नदी र खोलाहरूमा बहाव बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीको इटहरी स्थित टेङ्ग्रा खोला, बुढी खोला र खेती खोला इनरुवा र भोक्राहालाई असर गर्नेगरी सुनसरी खोला लगायतको खोला र नदीहरुको बहाव बढेको छ ।

मंगलबार सुनसरी जिल्लाका विभिन्न स्थानमा बाढी बस्तीमा पसेर डुबान गरेको छ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका, इटहरी उपमहानगरपालिकाको वडानं. ८, खनारको रिलायन्स मिल्सको एरियामा डुबान भएको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।

पानी जम्ने र खोला र नदीलाई सहज बग्न दिएर डुबान हुन नदिन सुनसरी जिल्लामा उच्च सतर्कता अपनाइएको र बिपद व्यवस्थापनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको टोली जेसिभि सहित तयारी अवस्थामा राखिएको पनि प्रहरी प्रमुख थापाले बताए ।