धरान : सुनसरीमा अविरल वर्षाले घर डुबानमा परेर घर छोडेर सुरक्षित स्थानमा बसेकाहरू आज पानीको सतह घटेसँगै उनीहरू आ आफ्नै घर फर्किन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले दिएको जानकारी अनुसार सुनसरी जिल्लाको सबै भन्दा बढी भोक्राहानरसिंह गाउँपालिकाको वडानं. ५ र ७ मा सुनसरी खोलाले डुबान गर्दा सयौँ विस्थापित भएका थिए । उनीहरू अहिले पानीको सतह घटेपछि आ आफ्नो घरमा फर्किएका छन् । 

यसै गरी सुनसरीको अन्य पालिकाहरूमा पनि आज दिनभरि पानी नपरेर खोला र नदीहरूको बहाव घटेसँगै डुबानमा परेर घरबार छाडेर सुरक्षित स्थानमा राखिएका डुबान पीडितहरू आ आफ्नो घरमा फर्किन थालेको प्रहरी प्रमुख थापाले जानकारी दिए । 

कोसीको बहाव घट्दै :

निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा बढेको बहाव पनि आज घट्दै गएको छ । 

कोसी ब्यारेज कन्ट्रोलरुमले आज दिउसो ४ बजे मापन गर्दा सप्तकोसीको बहाव १ लाख ६५ हजार ७ सय ४५  क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । पानीको बहाव घट्दै गएपछि अहिले कोसीमा २१ ढोका खोलिएको छ । 

आज दिनभरि पानी नपरेपछि सुनसरी जिल्लामा हिजो भएका डुबान क्षेत्र पनि क्रमशः सुक्दै गइरहेकोले विस्थापितहरू आ आफ्नो घर फर्किन थालेका छन् भने नदी नालाहरूको बहाव पनि घट्दै गएपछि अवस्था सामान्य बन्दै गएको बताइएको छ ।