धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आगामी असार २० गते हुने निर्वाचनमा उम्मेदवारहरूले प्रचारलाई तीव्र बनाइरहेका बेला पूर्व अध्यक्षहरूले पक्ष लिएर बोल्न सुरु गरेका छन् । पाँच पूर्व अध्यक्षहरूले भने अध्यक्षका उम्मेदवार विजय श्रेष्ठलाई सघाउने बताएका हुन् । 
लोकतान्त्रिक प्यानलका उम्मेदवार विजय सहित प्रगतिशील प्यानलका शिवराज श्रेष्ठ र स्वतन्त्र उम्मेदवार पवन अग्रवाल बिच प्रतिस्पर्धा हुने भएको छ । अग्रवाल पूर्व अध्यक्ष समेत रहेकाले उनी बलियो दाबेदारको रूपमा देखिएका छन् । शिवराज नेकपा एमाले निकट व्यवसायी भएको कारण उनको समर्थनमा वामपन्थी मत आकर्षित हुने अनुमान गरिएको छ । 
उता विजयको पक्षमा भने पूर्व अध्यक्षहरूले खुलेरै अभिव्यक्ति दिन थालेका छन् । त्यसै मध्येका मोहनकाजी शाक्यले विजयको पक्षमा मत मागिरहेका छन् । व्यवसायीको पक्षमा लाग्ने उम्मेदवार छनौट गर्नुपर्ने बाध्यता भएका कारण विजय नै उपयुक्त देखिएको उनले बताए । 
वर्तमान र विगतमा गरेको योगदानको आधारमा विजय श्रेष्ठलाई विजयी गराउनुपर्ने उनको धारणा छ । यसअघि महासचिव र प्रथम उपाध्यक्षको समेत अनुभव सँगालेको कारण उनलाई अध्यक्ष पदमा विजयी गराएर क्षमता देखाउने मौका दिनुपर्ने उनले प्रस्ट पारे । विगतको नेतृत्वले हिसाब पारदर्शी नगरेको र साधारणसभा समेत गर्न नसकेको कारण विजयको पक्षमा लागेको उनले बताए । 
अर्का पुर्वअध्यक्ष सरोज श्रेष्ठ विजयले सबैको कुरा सुनेर काम गर्ने क्षमता राख्ने भएकाले समर्थन गरेको बताउँछन् । पुरानो र अनुभवी नेता भएकाले विजयले व्यवसायीको पक्षमा काम गर्ने उनको विश्वास छ ।  
यसअघि पराजित भएका कारण सान्त्वना मत पाएरै भए पनि विजयको जित निश्चित भएको बताउँछन् राजेन्द्र शाह । पूर्व अध्यक्ष समेत रहेका उनी लोकतान्त्रिक प्यानलका उम्मेदवारको पक्षमा खुलेर भोट माग्ने बताउँछन् । विजय श्रेष्ठले काम गर्न सक्छ भन्ने विश्वास भएकै कारण समर्थन गरिएको उनले बताए । 
तिन वटै उम्मेदवार सक्षम हुँदाहुँदै पनि विजय श्रेष्ठले अझ उत्तम भएको तर्क गर्छन् विजय डाँगा । विजय यसअघि पराजित भएका उम्मेदवार पनि भएको र उनमा सबैसँग मिल्ने क्षमता भएकाले आफू खुलेरै लागि परेको उनले बताए । त्यससँगै खजान्ची दाश अग्रवालले यस अघि नै समर्थन जनाइसकेका छन् । 
पुर्वअध्यक्षको साथ र लोकतान्त्रिक गठबन्धनको समर्थनले विजयको पल्ला भारी बन्दै गएको छ । यसअघि निर्वाचनमा प्रगतिशील प्यानलमा रहेका पवनको उम्मेदवारीले शिवराजलाई चर्को पर्ने देखिएको छ ।