धरान : धरान उपमहानगरपालिका वडा नं. १४ को साप्ताहिक सरसफाइ अभियान अन्तर्गत आज विजयपुर चौक देखि दुईधारे सिंहदेवी चौक सम्म सरसफाइ गरिएको छ । 

पछिल्लो समय धरान-१४ विजयपुर क्षेत्र धार्मिक पर्यटकीय क्षेत्र भएकोले विजयपुरलाई सफा राख्न वडा कार्यालयले यो अभियानको थालनी गरेको हो । हरेक हप्ता विजयपुरको छुट्टा छुट्टै टोलको सडक सरसफाइ हुने गरेको छ । नव निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरलाई सफा र स्वच्छ वातावरणमय बनाउन यो अभियानको थालनी गरेका हुन् ।

जस अनुसार अहिले सम्म विजयपुरको मुख्य सडक रेडक्रस चौक देखि विजयपुर चौक सम्म पहिलो साता र दोस्रो साता पिण्डेश्वर मन्दिर देखि गौधारा सम्मको बाबाधाम मार्गको सरसफाइ गरिसकेको छ । त्यसैको निरन्तरता अनुसार आज विजयपुर चौक देखि सिंहदेवी चौक सम्म दुईधारे पथमा सरसफाइ भएको हो । 

सरसफाइ अभियानमा धरान १४ को वडा कार्यालयका कर्मचारी, प्रहरी, जनप्रतिनिधिहरू र स्थानियबासीहरुको सहभागिता रहेको छ । विजयपुर क्षेत्रमा पछिल्लो समय डेङ्गु, औलो, कालाजार सार्न सक्ने लामखुट्टे र भुसुना फेला परेकोले यसले गर्दा पनि सरसफाइ अत्यन्तै जरुरी भएकोले धरान १४ विजयपुरका हरेक टोल टोलमा सरसफाइ अभियान सञ्चालन गर्ने १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

बर्खा याममा झोर जङ्गल हुने भएकोले विभिन्न रोगहरू महामारीकोरुपमा फैलिन सक्ने भएकोले यसका लागि वडा कार्यालयले नियन्त्रण र न्यूनीकरणमा सम्बन्धित निकायहरूसँग सहकार्य र परामर्श गरेर अघि बढ्ने पनि अध्यक्ष भट्टराईले बताए । 

Sarsafai-3Sarsafai-1