धरान : धरानमा १ करोडको लगानीमा धरान ११ स्थित  मंगलबारेमा  यात्रा धरान ग्रुप अफ कम्पनी खुलेको छ।

पूर्वी नेपालको ऐतिहासिक एवम् सुन्दर नगरी धरानलाई आधार बनाई पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचार प्रसार गर्ने उद्देश्यले धरानका  युवाहरूले फेसबुककै माध्यमबाट सुरु गरेको अभियानले अहिले आएर  कम्पनीको रूपमा रूपान्तरण भएको हो । २०६८ सालमा  धराने युवाहरू अमित मोक्तान, आधि लामा र राजेश पाबिन गरी ३ जना मिलेर खोलेको फेसबुक पेज र फेसबुक आइडी समूह  यात्रा  धरान नामक समूहले शुक्रवार बिधिवत रुपमा यात्रा धरान अफ ग्रुप कम्पनीको उद्घाटन गरेको छ। 

कम्पनीको उद्घाटन धरानका उपमेयर अईन्द्र विक्रम बेघाले रिबन काटी  गरेका थिए । कम्पनीले हिजै देखि आफ्ना सम्पूर्ण कामकाज सुचारु गरेको कम्पनी प्रमुख आधी लामाले जानकारी दिए । सोही क्रममा लामाले विगत १० वर्षदेखि अर्थात् २०६८ सालदेखि सामाजिक सञ्जाल फेसबुक पेजबाट फेसबुक ग्रुप हुँदै सङ्गठित रूपमा यात्रा धरान ग्रुप मार्फत विभिन्न सामाजिक अभियानसँग आफ्नो गतिविधि निरन्तर रूपमा सञ्चालन गर्दै स्वदेश तथा विदेशमा रहेका ७० जना युवाहरूलाई सोही अभियानमा आबद्ध गराई यात्रा धरान ग्रुप अफ कम्पनी नामक संस्थानै दर्ता गरी विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको बताएका छन् ।

संस्थामा एक करोडको लगानी समेत रहेको छ । लामाका अनुसार कम्पनीले रियल स्टेट तथा हाउजिङ क्षेत्र सम्बन्धी लगानी गरी सम्पूर्ण कार्यहरू गर्ने, गराउने साथै घर जग्गा खरिद विक्री गर्ने तथा अन्य कम्पनीको शेयर तथा डिवेञ्चरमा लगानी गर्ने, गराउने, विद्युतीय माध्यमद्वारा पर्यटकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न वायुसेवा सँग सहकार्य गरी हवाई टिकट विक्री गर्ने, गराउने तथा ट्रेकिङ व्यवसाय लगायत पर्यटन उद्योगसँग सम्बन्धित मनोरञ्जनात्मक तथा साहसिक क्रियाकलापहरू सञ्चालन गर्ने, शिक्षालाई प्रवर्द्धन गर्दै पुस्तकालय निर्माण, सञ्चालन गर्ने, विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने साथै शैक्षिक परामर्श समेत सञ्चालन गर्ने, गराउने, औषधी तथा मेडिकल सम्बन्धी विभिन्न सामाग्री, संयन्त्र, मेसिनहरू थोक तथा खुद्रा बिकी वितरण गर्ने तथा विभिन्न प्रकारका सफ्टवेयर, एप तथा अनलाइन मार्फत व्यवसाय सञ्चालन गर्ने, अनलाइन न्युज पोर्टल, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी कार्यहरू गर्नुका साथै रेमिटेन्स सेवा प्रदायक, मुद्रा सटही मनी एक्सचेन्ज सम्बन्धी कार्यहरू सञ्चालन गर्ने र सेवा दिनेछ ।