इटहरी : इटहरीका दुई फरक फरक स्थानमा बस र मोटरसाइकलको ठक्करबाट दुई जना साइकल यात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-१७ पकलि चौकमा पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रामधुनी नगरपालिका-५ का ७५ वर्षीय मङ्गलु चौधरी रहेका छन् । 
शुक्रवार बेलुका साढे ४ बजे पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते बनाएको थियो । घाइते चौधरीको धरानको बिपी प्रतिष्ठानमामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको थियो । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । 
यसैगरी इटहरी उपमहानगरपालिका १२ चौकी मोड स्थित कोसी लोक मार्गमा मोटरसाइकलको ठक्करबाट अर्का एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत बिहार घर भई हाल इटहरी उपमहानगरपालिका १२ रिलायन्समा काम गर्ने ५० वर्षीय लालु प्रसाद विश्वास रहेका छन् । 
शुक्रवार बेलुका पौने ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । उनको को विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको थियो । 
मोटरसाइकल चालक काठमाडौँ नागार्जुन नगरपालिका-८ बस्ने २६ वर्षीय सुभाष तामाङ र पछाडि सवार सङ्खुवासभा शभापोखरी गाउँपालिका-६ बस्ने २५ वर्षीय शिखा लिम्बु समेत घाईते भई खनार स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको छ।