धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरानमा अव देखि जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । 

धरानको प्रवेशद्वार तीनकुने देखि छाताचौक सम्म जथाभाबी फोहोर फाल्न नपाइने र फोहोर फालेको पाइएमा कडा कारबाही गरिने निर्णय भएको छ । फोहोर फाल्नेलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को परिच्छेद ७ मा भएको कसुर जरिवाना तथा क्षतिपूर्ति अनुसार कारबाही गर्ने निर्णय भएको छ । जथाभाबी फोहोर फालेको गोप्य सूचना दिनेलाई धरान उपमहानगरपालिकाले प्रोत्साहन दिने पनि निर्णय भएको छ । 

असार १० गते उद्घाटन भएर स्थगित भएको एघारौँ नगरसभा असार २३ गते पुनः बस्ने भएकोले नगरसभाको पुर्वसन्ध्यमा मंगलबार बसेको कार्यपालिका बैठकमा २० वटा एजेन्डाहरू पेस गरिएको थियो । पेस गरिएको एजेन्डाहरू सबै छलफल गर्न समय अभाव भएकोले २३ गते बिहान ७ बजे पुनः कार्यपालिका बैठक बस्ने गरी स्थगित भएको छ ।

कार्यपालिका बैठकले हरेक शुक्रवार धरानका विद्यालयहरूमा विद्यार्थीले आफ्नो स्वजातिय मौलिक भेषभुषा लगाउने गरी विद्यालयहरूलाई उपमहानगरपालिकाले अनुरोध गरेर कार्यान्वयनमा लौजाने पनि निर्णय भएको छ । यातायात व्यवस्था कार्यालयको शाखा धरानमा स्थापना गर्नका लागि पहल गर्ने पनि निर्णय बैठकले गरेको छ । 

यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि जग्गा खोज्ने, आन्तरिक आय सङ्कलनका लागि ठेक्का प्रक्रियालाई अगाडी बढाउने, धरान उपमहानगरपालिकालाई देश विदेशबाट आर्थिक सहयोग गर्न चाहानेहरुका लागि आर्थिक सहयोग स्वीकार गर्नका लागि कार्यसंचालन कोष अन्तर्गत बैक खाता सञ्चालन गर्ने र राष्ट्रिय आविष्कार केन्द्रको धरान शाखा खोल्ने लगायतको महत्त्वपूर्ण निर्णय भएको बैठकमा सहभागी धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । 

बैठकमा धेरै एजेन्डा भएकोले केही एजेन्डामा छलफल गर्न नसकिएकोले २३ गते बिहान ७ बजे अर्को कार्यपालिका बैठक बस्ने गरी बैठक स्थगित भएको पनि वडाध्यक्ष भट्टराईले बताए । २३ गते दिउसो १ बजे अस्ति स्थगित भएको नगरसभा हुनेछ ।