धरान : धरान उपमहानगरपालिकामा पछिल्लो समय फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ। 

केही दिन अघि मात्रै एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा मंगलबार फेरि अर्को एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । दुवै जना धरान १५ निवासी हुन् । यस भन्दा पहिले धरान-१५ की २८ वर्षीय महिलामा कोरोना सङ्क्रमण भएको थियो । उनी विदेशबाट आएकी थिइन् । यसैगरी मंगलबार थप अर्को ५० वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । उनी धरान-१५ मा बसेर उदयपुरमा कार्यरत रहेको बताइएको छ । अहिले उनी होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

भारतमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको र नेपालमा पनि अहिले दैनिक जसो १ सय बढीमा सङ्क्रमण हुन थालेको बेलामा धरानमा केही दिनको अन्तरमा दुई जनामा कोरोना सङ्क्रमण देखिनु धरानमा फेरि पनि कोरोना महामारी बढ्ने सङ्केत भएको स्वास्थ्य विज्ञहरूको बुझाई छ । कोरोना सङ्क्रमण धरानमा देखिन थालेपछि अव धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पूर्व तयारी र सतर्कताका लागि अभियान थाल्ने महाशाखा प्रमुख उमेश मेहेताले बताए । 

धरानमा यस भन्दा अघि सुनसरी जिल्लाकै सबै भन्दा धेरै कोरोना सङ्क्रमण भएको र धेरैको मृत्यु कोरोना सङ्क्रमणबाट भएको पालिका हो । त्यसैले समयमै कोरोना सङ्क्रमणबाट सचेतता अपनाइएन भने धरानमा फेरि पनि कोरोना महामारी उच्च हुन सक्ने देखिन्छ ।