ईश्वर थापा

धनकुटा : यौन दुर्व्यवहार गरेको आरोप लागेपछि धनकुटा नगरपालिका-८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) लाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू माथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा असार २६ गते उजुरी परेको थियो । असार २१ गते मङ्गलवार विद्यार्थी माथि यौन दुर्व्यवहार गरेको घटना पछि शिक्षक राई फरार रहेका थिए ।

राई माथि विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । प्रहरीले असार २६ गते राति ९ बजे विद्यालय हाताबाटै शिक्षक राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

फरार शिक्षकलाई घटनाबारे विद्यालयमा छलफल गर्न योजनाबद्ध ढङ्गले बोलाएर छात्रछात्रा र अभिभावकहरूले घेराउ गरेर राखिएको अवस्थामा प्रहरीले पक्राउ गरेको एसपी अधिकारीले बताए । राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरूलाई मैयाँ भनेर जिस्क्याउने, ब्राको इलास्टिक तन्काई दिने, संवेदनशील अङ्गमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफूतिर तान्ने, अश्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।

धनकुटाको सहिदभूमी गाउँपालिका-३ कुङलाङ घर भएका ४० बर्षिया राई २०६५ सालदेखि उक्त विद्यालयमा राहत दरबन्दीमा कार्यरत थिए । शिक्षक राईले विगत १ वर्षदेखि त्यस्तो व्यवहार गरेको र पछिल्लो समय असार २१ गते बालिकाहरू विद्यालयमा एक शिक्षिकाको जन्मदिन मनाउने क्रममा एक छात्रालाई यौन दुर्व्यवहार गरेपछि घटना बाहिरिएको हो । 

शिक्षक राईलाई बालयौन दुरुपयोग मुद्दामा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । सो विषयमा मुलुकी ऐन अपराध संहिता २०७४ को दफा २२५ अन्तर्गत कसुरमा अदालत समक्ष मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।