धरान : पछिल्लो समय लिम्बु जातिमा सिलाम साक्माको लोकप्रियता बढिरहेको बेलामा धरानमा सिलाम साक्मा बनाउने तालिम सम्पन्न भएको छ ।

लिम्बु जातिको मुन्धुममा वर्णित सांस्कृतिक प्रतीक सिलाम साक्मा पछिल्लो समय निकै लोकप्रिय भइरहेको बेलामा लिम्बु विद्यार्थी मञ्च सुनसरीले लिम्बु विद्यार्थी मञ्चमा आबद्ध विद्यार्थीहरूलाई लक्षित गरी तीन दिने सिलाम साक्मा बनाउने तालिम दिएको हो । 

लिम्बु विद्यार्थी मञ्चका सल्लाहकार गोपीलाल फेम्सङ लिबाङ लिम्बुको आर्थिक सहयोग र उनको प्रशिक्षणमा सम्पन्न तालिममा ४५ जनाको सहभागिता रहेको थियो । 

आदिवासी लिम्बु समुदायले सार्वजनिक समारोहहरूमा सम्मानका रूपमा लगाइदिने यो प्रतीक चिन्ह सिलाम साक्मा लिम्बु समुदायको धार्मिक, सांस्कृतिक प्रतीक चिन्ह हो । मुन्धुममा सिलाम साक्मा मृत्यु छेक्ने शक्ति भएको यन्त्रको रूपमा वर्णन गरिएको पाइन्छ । यसको प्रचलन बढ्दै गएपछि व्यवसायीक रूपमा पनि उत्पादन हुन थालेका छन् । त्यसैले लिम्बु विद्यार्थी मञ्चको कोषमा केही आर्थिक सङ्कलन गर्नका लागि पनि आयआर्जनकोरुपमा पनि सिलाम साक्मा बन्न सकोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइएको छ ।

नेपालकै मौलिक पहिचानको यो प्रतीक चिन्ह बनाउने सिपलाई आयमूलक बनाउन सकिने भएकाले लिम्बु विद्यार्थी मञ्चले  कलेजका विद्यार्थीहरूलाई सिलाम साक्मा बनाउने प्रतिक्षण दिइएको हो । 

तालिमको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि धरान १५ का वडाध्यक्ष नरेश इङवारामले लिम्बु जातिको मौलिक प्रतीक सिलाम साक्माको प्रयोग पछिल्लो समय बढिरहेको बेलामा यस्तो तालिम हुनुले निकै ठुलो उपलब्धि प्राप्त गर्न सक्ने बताए । आफू आदिवासी जनजातिहरूको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि वडाबाट बजेट विनियोजन गर्ने पनि बताए । 

सिलाम साक्मा बनाउने तालिमको समापन समारोहमा चुम्लुङकर्मीहरू नरप्रसाद लुम्फुङ्वा, सङ्गीता सुब्बा, मोहन हुक्पाचोङबाङ, कुमार हुक्पाचोङ्बाङ, लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय उपमहासचिवदोय सरगम सागर चेम्जोङ, प्रदीप नेयोङ लिम्बु लगायतले बोलेका थिए ।

कार्यक्रममा सिलाम साक्मालाई व्याजकोरुपमा लगाने गरी प्रवर्द्धन गर्ने धरान १५ निवासी केबलराम इमेहाङलाई मञ्चले सम्मान गरेको छ भने लिम्बु विद्यार्थी मञ्चको कार्यालय स्थापनामा सहयोग गर्ने गोपीलाल फेम्सङ लिबाङ लिम्बु, सुमन चेम्जोङ र बिष्णुकमारी आङवुहाङलाई धन्यवाद पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व लिम्बु विद्यार्थी मञ्च सुनसरीका अध्यक्ष हरि इवाहाङले गरेका थिए ।

Silam-Sakma-2 2