इटहरी : इटहरीको मुख्य चोकमा पूर्व राजा वीरेन्द्र शाहको मूर्ति राख्ने बहस चलिरहेको बेला पहिचान झल्किने प्रतिमा राखिने भएको छ । इटहरी उपमहानगरपालिकाले नगर सौन्दर्यीकरण अन्तरगत पूर्व राजाको ठाउँमा इटहरीको पहिचानलाई प्राथमिकता दिएको हो ।
हाल चोक सौन्दर्यीकरण गरी आकर्षक बनाउने काम धमाधम भइरहेको छ । केही समय अगाडीदेखि वीरेन्द्र शाहको मूर्ति राख्ने भन्ने विषयमा बहस सुरु भएको थियो । तर इटहरीका राजनैतिक दल तथा विभिन्न संस्थाहरू विरोध स्वरूप मेयर हेमकर्ण पौडेलको ध्यान आकर्षण गराएका थिए । 
मुख्यतः राप्रपा लगायत दलले पुर्वराजाको मूर्ति राख्न दबाब बढाएका छन् । तर इटहरी उपमहानगरपालिकाले हाल ७ लाखको लगानीमा चोक सजाउने काम गरिरहेको छ । केही दिनमै इटहरीको पहिचान झल्किने प्रतिमा राखिने मेयर पौडेलले बताएका छन् । उनका अनुसार इटहरीको इतिहास सँग जोडिएको पहिचान झल्किने र सबैको प्रतिनिधित्व हुनेगरि प्रतिमा तयार भइरहेको छ ।  
भर्खरै इटहरीको मुख्य चोकमा हाई रिजोलुसनको सिसी क्यामेरा जडान भएको छ । उपमहानगरपालिकाकै पहलमा ट्राफिक लाइट जडान हुने ६ नम्बर वडाका वडाध्यक्ष दिवस पोखरेलले बताए । इटहरीका चारतिरका सडकमा २ किलोमिटर सम्म सडक बत्ती जडान गर्ने काम सुरु भएको उनको भनाई छ । मुख्य चोकमा रहेका रुखमा हेलोजेन लाइट लगाउने देखी बोर्डहरूमा रङरोगन गरिने उनले प्रस्ट पारे ।