धरान : धरान-६ स्थित पानवारीमा आयोजित निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकमा गरिएको स्वास्थ्य परीक्षण पश्चात् उक्त क्षेत्रमा अन्य स्थानभन्दा बढी रूपमा धूम्रपान गर्ने बिरामीहरू पाईएको डा. प्रशान्त शाहले बताएका छन् । "हामीले धरानको बजार क्षेत्रभित्र स्वास्थ्य परीक्षण गरेको तुलनामा पानवारीका बिरामीहरू अधिक रूपमा धूम्रपान गर्ने गरेको पाएका छौँ” डा. शाहले भने । 
परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गरेको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २१ औँ संस्करणमा धरान-६ स्थित सरस्वती माविको सहकार्यमा पानवारीमा आयोजना गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण गरिएको उक्त निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकमा ९५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
विशेष गरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि आयोजना गर्ने गरिएको यो कार्यक्रम धरानका विभिन्न वडाहरूमा आयोजना गर्ने अभियान अनुरूप यस पटक वडा नं. ६ मा आयोजना गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले बताए । “हामीले धरानका विभिन्न वडाहरूमा आयोजना गर्ने अभियान अनुरूप २१ औँ संस्करणको यो कार्यक्रम सरस्वती मा. वि.को सहकार्यमा धरान-६ मा आयोजना गरेका हौँ” बरालले भने । यस क्षेत्रमा स्वास्थ्य जाँच गर्दा बजारका वडाहरूभन्दा बढी धूम्रपान गर्ने र खानपानमा ध्यान नदिने बिरामीहरू देखिएकोले जनचेतना जगाउन समेत आवश्यक रहेको बरालले बताए ।
त्रिभुवन बरालको संयोजकत्वमा आयोजित उक्त निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकमा सल्लाहकार मोहन श्रेष्ठ, कोषाध्यक्ष वर्षा अग्रवाल, निशान नेपाल, जेनिश शाक्य, हेम ढकाल, प्रशान्त अग्रवाल लगायतका अभियन्ताहरूको सहभागिता रहेको थियो भने स्टाफ नर्स चेतना परियारले बिरामीहरूको रक्तचाप परीक्षण गरेकी थिइन । 
शैक्षिक गतिविधि सँगसँगै स्वास्थ्यको कार्यक्रम गर्न पाएकोमा विद्यालयका प्रअ गङ्गाप्रसाद धमलाले खुसी व्यक्त गरे । साथै परिवर्तनका लागि सामाजिक अभियानले यस्तो सह्रानीय कार्य गरेकोमा धमलाले आयोजक संस्था प्रति धन्यवाद ज्ञापन गरे ।