धरान : डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा आयोजित प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको दोस्रो दिनको खेलमा होलिल्याण्ड स्कुल, लोटस स्कुल, केके इन्टरनेसनल स्कुल र सियोन स्कुल विजयी भएका छन् ।

वर्षाको कारण धरान-१६ स्थित कर्भडहलमा खेलाइएको दोस्रो दिनको खेलमा होलिल्याण्ड स्कुलले आयोजक डिपो स्कुललाई ३१–१८, लोटस स्कुलले समिट स्कुललाई २८-० र सियोन स्कुलले विश्वआर्दश स्कुल इटहरीलाई ३८–८ अङ्कले पराजित गरेको थियो । तेस्रो खेल सयपत्री स्कुल तरहराले केके इन्टरनेसनललाई वाक ओभर दिए पछि केके स्वतः विजयी घोषित भएका छन् ।

दोस्रो दिन सोमवार भएको खेलमा होलिल्याण्ड स्कुल र डिपो स्कुलले १०-५, ६-५, ४-२ र ११-६ अङ्क जोडेका थिए । दोस्रो खेलमा लोटस र समिट स्कुलले ९-०, ४-०, ९-० र ६-० अङ्क जोडेका छन् ।यसैगरी तेस्रो खेलमा सियोन स्कुल र विश्व आदर्श स्कुलले १०-०, ५-२, १५-२ र ८-४ अङ्क जोडे ।

प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद पन्ध्र हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

भोलि देखि भने क्वाटर फाइनल खेल सुरु हुनेछ । क्वाटरफाइनल खेलमा सगरमाथा स्कुल विरुद्ध होलिल्याण्ड स्कुल, केके इन्टरनेसनल विरुद्ध चिल्ड्रेन एकेडेमी, कार्मेल स्कुल विरुद्ध लोटस स्कुल र टावर टेम्पल झापा विरुद्ध सियोन स्कुल बिच प्रतिस्पर्धा हुनेछ ।

Basket-Ball