धरान : बराह सहकारी पीडित सङ्घर्ष समितिका दुई जना विरुद्ध मेयर हर्क साम्पाङले प्रहरीमा किटानी जाहेरी दिएका छन् । 

आइतबार बराह पीडित सङ्घर्ष समितिको नेतृत्व गर्दै भिडलाई उत्तेजित पारेर कार्यालयमा तोडफोड गरेको भन्दै धरान-१५ निवासी खगेन्द्र नेपाली र धरान-१ का प्रदीप बास्तोला विरुद्धमा सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा मेयर साम्पाङले किटानी जाहेरी इलाका प्रहरी कार्यालय धरानमा दिएका हुन् । 

स्थानिय सरकारले बराह सहकारी पीडितहरूको समस्यामा साथ नदिएको र पीडितको कुरा नसुनेको भन्दै आइतबार बराह सहकारी पीडितहरूले धरान उपमहानगरपालिका घेराउ गरेका थिए । सो क्रममा मेयर साम्पाङले पीडितहरूलाई मलाई सोधेर बराहमा पैसा राखेको हो र ? जस्तो गैरजिम्मेवार कुरा गरेको भन्दै पीडितहरूले मेयरको कार्यकक्षको झ्यालको सिसा तोडफोड गरेका थिए ।