धरान : धरान उपमहानगरपालिकाले बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पूर्ण सम्पत्ति रोक्का गर्न माग गर्दै सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।

धरान उपमहानगरपालिकाले गठन गरेको कार्यदलको आइबार बसेको बैठकको निर्णय अनुसार सोमबार सम्बन्धित ११ वटा निकायलाई  धरान उपमहानगरपालिकामा कार्यक्षेत्र रहेको धरान-८ स्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पत्ति रोक्का गर्न भन्दै पत्राचार गरेको हो । 

उपमहानगरपालिकाले पदाधिकारी तथा कर्मचारीहरू संस्थाको नाममा रहेको स्थिर सम्पत्ति तथा बचत रकमलाई हिनामिना गरेको भन्ने बचतकर्ता र सेयर सदस्यहरूले छानबिन गर्न भन्दै निवेदन धरान उपमहानगरपालिकामा परेकोले नगरप्रमुख स्तरीय ५ सदस्यीय छानबिन समिति गठन भएको र आइतबार बैठक बसी बराहको सम्पत्ति रोक्का गर्ने निर्णय भएकोले  सोही अनुसार सहयोग गरिदिनुहुन अनुरोध गर्दै पत्राचार गरिएको छ । 

बराहको सम्पत्ति रोक्का गर्नका लागि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय बालुवाटार, जिल्ला प्रशासन कार्यालय सुनसरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबार, सहकारी बैक केन्द्रीय कार्यालय, जिल्ला सहकारीसंघ सुनसरी, बचत तथा ऋण सहकारी सङ्घ इटहरी, बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घ, सहकारी बैक शाखा कार्यालय धरान, सम्पत्ति सुद्धिकरण विभाग पुलचोक ललितपुर र केन्द्रीय अनुसन्धान काठमाण्डौलाई पत्राचार गरेको छ ।  

केही दिन देखि बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताहरूको रकम फिर्ता नदिएको भन्दै बराह सहकारी पीडित सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गर्दै आएका छन् । 

Baraha-Patra