धरान : चिल्ड्रेन एकेडेमी र होलिल्याण्ड स्कुल प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको फाइनलमा भिड्ने पक्का भएका छन् ।

डिपो स्कुलको बास्केटबल कोर्टमा बुधवार सम्पन्न पहिलो सेमिफाइनल  खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुल विरुद्ध  ३९–२० अङ्कको  सहज जित निकाल्दै फाइनल प्रवेश गरेका हुन । चिल्ड्रेन एकेडेमी र कार्मेल स्कुलले प्रत्येक क्वाटरमा ९–५, ६–९, २१–३ र ३–३ अङ्क जोडेका थिए । खेलमा जितका लागि  चिल्ड्रेनका पीयूष तामाङले व्यक्तिगत १७ अङ्क जोडे ।

त्यस्तै गरी दोस्रो सेमिफाइनल खेलमा होलिल्याड स्कुलले टावर टेम्पल स्कुल बिर्तामोड विरुद्ध  सबै क्वाटरमा अग्रता बनाउँदै ५४–१२ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका छन् । होलिल्याड स्कुलले टावर टेम्पल विरुद्ध प्रत्येक क्वाटरमा १०–०, १२–४, २०–४ र १२–५ अङ्क  जोडेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन  गरेका  होलिल्याड स्कुलका इङ्ग्वाहाङ लिम्बुले व्यक्तिगत ३८ अङ्क जोडे ।

डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष दिवङ्गत मेजर श्रवणकुमार लिम्बुको सम्मानमा आयोजित प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेता टिमले नगद पन्ध्र हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा  सम्पन्न प्रतियोगिताको फाइनल खेल श्रावण २० गते बिहान ९ बजे हुनेछ  ।