धरान : कोरोनाको प्रकोपका कारण दुई वर्ष रोकिएको धरानको बोलबम मेलामा श्रावणको अन्तिम सोमबार लाखौँ भक्तजनको सहभागिता सहित समापन भएको छ । 
दुई वर्ष रोकिएको श्री पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेला यस वर्ष पाँच वटा सोमबार परेको थियो । यस वर्षको श्रावणमा विभिन्न चाडबाडसमेत परेकोले महिना भरि नै भक्तजनको घुइँचो लागेको थियो । 
श्रावण भगवान् शिवजीको प्रिय महिना र सोमबार प्रिय बार मानिने भएकोले यी दिनमा शिवजीको आराधना गर्नाले भगवान् खुसी हुने र शिव कृपा प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका कारण श्रावणको सोमबार विभिन्न शिवालयमा भक्तजनहरूको ठुलो भिड हुने र आराधना हुने गर्दछ। चालिस वर्ष पहिलेबाट धरानको श्री पिण्डेश्वर बाबाधाममा चतराको सप्तकोसीबाट जल ल्याएर चढाउने बोलबम मेलाको परम्परा चलिआएको छ । यस वर्ष प्रदेश एक र मधेस प्रदेशबाट करिब ५ लाख भक्तजनले पिण्डेश्वरमा जल चढाएको श्री पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताएका छन् । उनका अनुसार यस वर्ष बोलबम मेलाको प्रचार प्रसार मधेस प्रदेशका आठ वटै जिल्लामा समेत गरिएको थियो ।
पिण्डेश्वर बोलबम मेलामा विशेषतः शनिवार आइतबार र सोमबार भक्तजनको आवागमन अत्यधिक हुने गरेको छ । पछिल्ला दुई सप्ताहका शनिवार आइतबार र सोमबार साँझमा विशेष आरती समेत गरिएको थियो । गङ्गा आरतीको झल्को देखिने विशेष आरतीमा भक्तजनको भव्य श्रद्धा देखिएको थियो ।
Bolbomm