धरान : धरानका मेयर हर्क साम्पाङले अव धरानका सबै विद्यालयहरूमा लागुऔषध सम्बन्धी १५ मिनेट अनिवार्य ब्रिफिङ गर्नुपर्ने बताएका छन् । 

शुक्रवार धरान-१७ स्थित रेल्वे चौकमा सम्पन्न लागुऔषध विरुद्धको अभियानमा बोल्दै मेयर साम्पाङले हाम्रो समाजमा लागुऔषधको कारण थुप्रै आपराधिक घटनाहरू वृद्धि भइरहेकोले लागुऔषध नियन्त्रण र न्यूनीकरण गर्न अव विद्यालयबाटै यो अभियानको थालनी गर्नुपर्ने बताए ।

मेयर साम्पाङले नै सुरुवात गरेको लागुऔषध दुव्र्यशन विरुद्धको अभियानले आठ हप्ता पुरा गरेको बताउँदै अहिले आफ्नो अभियानको प्रभावकारिता पनि बढ्दै गएको बताए । उनले भने – अव धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाको निर्देशनमा धरानका सबै विद्यालयहरूमा अनिवार्य लागुऔषध सम्बन्धी ब्रिफिङ गर्न सूचना बिद्यालयहरुलाई जारी गरिने छ । 

धरानमा अहिले घटिरहेका घटनाहरू मध्ये ९५ प्रतिशत लागुऔषधसंग जोडिएको बताउँदै कुलतबाट समाजलाई धेरै टाढा लानुपर्छ । 

लागुऔषध प्रयोगकर्ताहरूलाई प्रहरी लगाएर, थुनेर केही नहुने र शिक्षा र ज्ञानको माध्यमबाट नियन्त्रण र न्यूनीकरण गर्न सकिने उनले बताए । यसैगरी कार्यक्रममा पछिल्लो समय नेपालमै श्रमको क्रान्ति धरानबाट सुरु भएको दाबी गर्दै मेयर साम्पाङले अव धरानका हरेक विद्यालयका कक्षा ९, १० र ११ का विद्यार्थीहरूलाई श्रमदान गर्न र गराउने गरी शैक्षिक कार्यक्रम समेत अघि बढाउने योजना रहेको बताए । 

काम गर्दा कहिल्यै सानो नहुने बताउँदै मेयर साम्पाङले पाखुराको दमले धरानको विकास र समृद्धि अघि बढेको छ । आफ्नो अभियानमा श्रमदान गर्न आउनेहरूको सङ्ख्या उल्लेख्य रहेकोले अव बम बारुदको क्रान्ति धेरै भयो, श्रमको क्रान्ति धरानबाट सुरु भएको उनले दाबी गरे । देशको विकासको लागि पार्टी र जातिबाट माथि उठेर काम गर्नुपर्ने बताउँदै मेयर साम्पाङले हामी सबै नेपालीको भावनाबाट एक भएर देश निर्माणमा जुट्नुपर्ने बताए । 

लागुऔषध दुव्र्यशन विरुद्धको अभियानमा पछिल्लो समय निकै धेरैको सहभागिता हुन थालेको छ भने धरान बाहिरका पनि सहभागी हुन थालेका छन् । रेल्वे चौकमा सम्पन्न कार्यक्रममा सहभागीहरूले गीत, कविता लगायतका लागुऔषध विरुद्धका सृर्जनाहरु प्रस्तुत गरेका थिए ।