धरान : उदयपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पछाडि सवार अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । 
इटहरीबाट गाईघाट तर्फ गइरहेको प्र १-०५००१ प ७४८५ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित हुँदा सवारी चालक उदयपुरको कटारी नगरपालिका ४ कान्छिबजार बस्ने २४ वर्षीय अभिषेक खड्काको मृत्यु भएको हो । त्यस्तै पछाडि सवार २० वर्षीय संजिता बस्नेत घाइते भएकी छिन् । उनीहरू श्रीमान् श्रीमती रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
शनिवार दिउँसो करिब १ः१५ बजे मदन भण्डारी राजमार्गमा पर्ने चौदण्डीगढी नगरपालिका-१० खैराहामा दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर भएका खड्कालाई उपचारका लागि अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाई छ ।
मृतककी श्रीमती बस्नेतको हात र दुवै खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।