झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला दौडाहा बाक्लिएको छ। गत भाद्र २ गते झापामा ३ दिनको बसाई सकेर काठमाण्डौं फर्किएका ओली पुन: आज अपराह्न झापा आउँदैछन्। 
सुदूरपश्चिममा नेकपा एसका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराएको भोलिपल्ट अर्थात् आज बिहीबार नेकपा अध्यक्ष ओली झापा आउन लागेका हुन् । 
अपराह्न तीन बजे भद्रपुर विमानस्थल हुँदै अध्यक्ष ओली झापा आउने कार्यपालिका रहेको ओलीको सचिवालयले जनाएको छ । एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार आजै साँझ आफ्नो निर्वाचन क्षेत्र झापा ५ का बुद्धिजीवी तथा शिक्षकहरूसँग ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम छ। 
यसैगरी विपक्षी पार्टीमा रहेका विभिन्न समूहहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम पनि रहेको बताइएको छ। खासगरी कार्यकर्ता र मतदाताहरूसँग व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिइने पनि सचिवालयले जनाएको छ । अध्यक्ष ओली साँझ दमक स्थित निजी निवास दमक ९ मा बस्ने कार्यक्रम छ । 
यस्तै भोलि शुक्रवार मोरङको सुन्दरहरैचामा आयोजना हुनलागेको नेपाल जेसिजको एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको उनको सचिवालयले जानकारी दिएको छ। त्यस लगत्तै अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रको सीमावर्ती गाउँपालिका गौरीगञ्ज जानेछन् । त्यहाँ विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गर्नेहरूलाई स्वागत र सम्बोधन गर्ने कार्यक्रम छ। उक्त दिन साँझ पनि मतदाता र कार्यकर्ता भेटघाटलाई निरन्तरता दिने कार्यक्रम तय भएको छ । भोलि साँझ पनि अध्यक्ष ओली दमकमै बस्नेछन् । 
गृह जिल्ला भ्रमणको तेस्रो दिन शनिवार अध्यक्ष ओली बिहान आन्तरिक भेटघाटपछि सुनसरीको दुहबीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कि सिधै भद्रपुरबाट फर्किने निश्चित भईनसकेको उनको सचिवालयले जनाएको छ ।