धरान : नेपाली काङ्ग्रेसले घर निर्माणका लागि सहयोग गरेको छ । नेपाली काङ्ग्रेस धरान-१५ ले घरबार विहीन भएका राधा बराललाई घर निर्माण गर्न तेत्तिस हजार सात सय दश रुपैयाँ सहयोग गरेको हो । 
नेपाली काङ्ग्रेस, १५ नंं. वडा कार्यसमितिले आयोजना गरेको आयव्यय प्रस्तुत तथा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धी छलफल कार्यक्रममा जिल्ला सहसचिव गणेश सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १ (१) सचिव युवराज शङ्कर, वडा सभापति डम्बर गुरुङले उनलाई सहयोग हस्तान्तरण गरेका थिए । 
कार्यक्रममा जिल्ला सहसचिव गणेश सुब्बाले सङ्घ र प्रदेशको चुनावमा सबै एक भएर होमिनुपर्ने बताए । क्षेत्रीय सभापति सुजेन्द्र तामाङले वडामा गठन भएका सबै टोल कार्यसमितिहरू सँग प्रभावकारी समन्वय र सहकार्य गरेर टोल लक्षित कार्यक्रम र सामाजिक कार्यक्रमहरू गर्न वडाले आफै कार्यक्रम तय गर्नुपर्ने बताउँदै क्षेत्र, प्रदेश र नगरले पनि छुट्टै कार्यक्रम लिएर वडा र टोलहरूमा आउने बताए । उनले अहिले नगरले हरेक महिना रक्तदान र क्षेत्रले हरेक महिना स्वास्थ्य शिविर गरिरहेको बताउँदै सामाजिक क्षेत्रमा पार्टीले निरन्तर कार्यक्रम गर्नुपर्ने बताए । 
वडा सभापति डम्बर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा १ (१) समितिका सहसचिव तथा स्थानीय तह निर्वाचनका आर्थिक समिति संयोजक हरि ओझाले निर्वाचन सम्बन्धी आयव्यय र वडा उपसभापति डिकबहादुर तामाङले कार्यसमितिको आय–व्यय प्रस्तुत गरेका थिए भने वडा सदस्य विमला घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव राजकुमार श्रेष्ठले गरेका थिए ।