सुनसरी : सुनसरीको कोशी गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 
आज (शनिवार) बिहान करिब ८ बजे पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ६०प ४४९२ नम्बरको मोटरसाइकललाई कोशी गाउँपालिका १ राजापोखरीमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । 
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सप्तरी जिल्लाको फत्तेपुर घर भएका ३५ वर्षीय प्रकाश गोजेवार र सप्तकोशी नगरपालिका-६ बस्ने अन्दाजी ३६ वर्षीय दुर्गानन्द चौधरी रहेका छन् । उनीहरू मध्ये कसले मोटरसाइकल चलाएको थियो भन्ने खुलेको छैन ।  
पिकअपको ठक्करबाट गम्भीर घाइते भएका प्रकाश गोजेवारलाई इनरुवा जिल्ला अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । त्यस्तै दुर्गानन्द चौधरीलाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
ठक्कर दिने पिकअप चालक सुनसरीको कोशी गाउँपालिका ३ बस्ने २१ वर्षीय दीपक गोसाई र दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।