इटहरी : प्रदेश १ प्रदेशसभाले पाँच बर्षे कार्यकाल पुरा गरेको छ । कार्यकाल पुरा गर्दैगर्दा प्रदेशको नाम राख्न नसकेको आलोचना प्रदेशसभाले खेप्नु परेको छ। ३ मुख्यमन्त्री सहित मन्त्रालय हेरफेरको अनुभव प्रदेशसभाले पायो । मुख्यमन्त्री र मन्त्रीका नामहरू बदलिए पनि प्रदेश सभाले प्रदेशको नाम राख्न सकेन । 

४ बर्ष  प्रमुख प्रतिपक्षी दलको नेता र त्यसयता सत्तारुढ दलको नेता भएका काँग्रेस संसदीय दलका नेता भए राजीव कोइराला । प्रदेशको नाम राख्न नपाएकोमा सबैले माफी माग्नुपर्ने उनको धारणा छ । जनताको विश्वास तोड्ने र भरोसा गुमाउने काम कसैले गर्न नहुने भन्दै उनले क्षमायाचना गर्नुपर्ने बताए । 

नाम राख्न नसक्नु लाजमर्दो भएको बताउँदै उनले यसैलाई जोडेर सङ्घीयता प्रति दुष्प्रचार भएको प्रस्ट पारे । “यसबिचमा मन्त्रालय बनेको छ, कानुन बनेको छ । जनताको अपेक्षा धेरै भएको कारणले मात्र पहिलो पटक धेरै काम हुन पाएनन् । केही नभएको जसरी प्रचार गर्नु राम्रो हैन ।, कपुरी न्युजसँगको कुराकानीमा उनले भने, सङ्घीयताले मात्र खर्च बढेको हैन । हिजो जिल्ला पञ्चायत हुँदा पनि खर्च भएकै थियो तर खर्च भए अनुसारको काम हुन नसक्नुमा हामी सबैले दोषको भागिदारी लिनुपर्छ । स्थायी आम्दानीका श्रोत परिचालन गरेर प्रदेश लाई थप सशक्त बनाउनुपर्छ ।” 

पहिलो संसद् र सरकारले झेलेजस्तो समस्या आगामी प्रदेश सभाले भोग्नु नपर्ने उनको तर्क छ । “खर्च बढेको भए मितव्ययी बन्नुपर्छ तर जनतालाई प्रदेशको काम छैन भनेर भड्काउने काम गर्नु गलत हो । काठमाण्डौमा बस्ने केन्द्रीय मानसिकता भएका कर्मचारी र नेताहरूले समस्या भएको हो । सङ्घीय सरकार सँग बलियो ढङ्गले कुरा राख्न सक्नुपर्थ्यो । त्यो भएन,” उनले भने । 

शुक्रवार पहिलो कार्यकालको प्रदेशसभा अन्त्य भएको छ । २०७४ माघ २२  गते पहिलो बैठक बसेको प्रदेशसभा ४ वर्ष ७ महिनामा कार्यकाल पुरा गरेको हो ।