धरान : धरानको वडा नं.१ मा रहेको धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलले कक्षा १२ मा ५ जनाले ए प्लस सहित धरान क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरेको छ। 
धरान आदर्शले विज्ञान सङ्कायमा ३ जनाले ए प्लस सहित शतप्रतिशत नतिजा निकाल्न सफल भएको विज्ञान संकायका इन्चार्ज शोभित यादवले जानकारी दिए । धरानमा ५ जनाले ए प्लस नतिजा ल्याएको जानकारीमा नआएको हुनाले हामीले धरानमै उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको उनले जानकारी दिए। 
विज्ञानमा १३२ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको उनले बताए । त्यस्तै व्यवस्थापनमा ३०० जना विद्यार्थीले परीक्षा दिएकोमा २ जना ए प्लस नतिजा सहित २७० जना उत्तीर्ण भएको र ३० जनाले ग्रेड बृद्धीकालागी परीक्षा दिनुपर्ने भएको उनले जानकारी दिए । 
धरान आदर्शले विज्ञान र व्यवस्थापनमा ए प्लस ल्याउने साथै होटेल म्यानेजमेन्टमा पूर्वाञ्चल प्रथम भएका आफ्ना विद्यार्थीलाई सम्मान समेत गरेको छ। धरान आदर्श विज्ञान ब्लकमा आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै सम्मान गरिएको यादवले बताए । यसअगि ३ पटक धरान आदर्श राष्ट्रिय परीक्षा बोर्डको नतिजामा उत्कृष्ट १० मा पर्न सफल भएको उनले जानकारी दिए।