धरान : धरान-५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एन्ड खाजा घरको उद्घाटनको अवसरमा आयोजित युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ बिहीबार देखि सुरु भएको छ ।

बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्बु र नानी भुजेल विजयी भएका छन् । उद्घाटन खेलमा साहिलले सन्जित राईलाई,  ओपनेन्टले खड्क लिम्बु र नानी भुजेलले युनिस राई पराजित गर्दै उपाधिका लागि अघि बढेका हुन् ।

प्रतियोगिताका विजेताले नगद तिस हजार, ट्रफि र प्रमाणपत्र र उपविजेताले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन  । यसैगरि व्यक्तिगत पुरस्कार तर्फ प्रतियोगिताको सेन्चुरी ब्रेकले नगद १५ हजार र हाइएस्ट ब्रेकरले  नगद १० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्नेछन ।

कार्यक्रमका प्रमुख अतिथि धरान-५ का पूर्व वडा सदस्य कुमार देवानले रिवन काटेर खाजा घरको उद्घाटन गर्नुका साथै स्नुकरको सट लिँदै प्रतियोगिताको उद्घाटन समेत गरेका थिए । प्रतियोगितामा धरान भरिका ५२ जना खेलाडीहरूले भाग लिएका छन् । प्रतियोगिता दुई हप्ता सम्म चल्नेछ ।

स्नुकर खेल विकास र स्नुकर खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको खाजा घरका सञ्चालक एवं प्रतियोगिताका संयोजक चन्द्र लिम्बूले बताए । भदौ १ गते देखि युनिक पुल हाउस एन्ड खाजा घर सञ्चालनमा आए पनि प्रतियोगिताको आयोजना गरी बिहीबार देखि औपचारिक रूपमा सुरु भएको लिम्बूले जानकारी दिए ।