इटहरी : सुन्दरहरैँचा नगरपालिकाले जारी गरेको श्वेतपत्र झुटो, भ्रामक र लाजमर्दो भएको निवर्तमान मेयर शिवप्रसाद ढकालले बताएका छन् । भदौ २४ गते एक सय दिन पुगेको उपलक्ष्यमा जारी भएको श्वेतपत्रमा जनतालाई ढाँट्ने काम भएको उनले बताए । 
श्वेतपत्र नगरपालिकाको समग्र वस्तुस्थिति र आगामी दिनमा गर्ने योजना सहित आउनुपर्नेमा लाजमर्दो कुरा समावेश भएको उनको भनाइ छ । आफू निवर्तमान मेयर भएको हैसियतले गलत प्रचारका विरुद्ध बोल्नै पर्ने बाध्यता आइलागेको प्रष्ट पारे ।  
वर्तमान मेयर केदार गुरागाईँले निर्वाचित भएसँगै नगरपालिका ३१ करोड घाटामा रहेको बताएका थिए । जुन कुरा गुरागाईँले चर्चामा आउन मात्र बोलेको र अहिले आएर कतै पनि उल्लेख गर्न नसकेको ढकालले बताए ।
त्यससँगै श्वेतपत्र मेयरको नामबाट आउनुपर्नेमा प्रवक्ताको नाम बाट आउनु गलत भएको उनको बुझाई छ । 
आफ्नै निवास बिराटचौकमा आयोजित पत्रकार सम्मेलनमा घर नक्सा पास वडाबाटै पास गर्ने कुरा भ्रामक भएको र यो अहिलेसम्म कतै नभएको उनले बताए  । घरबाहल करमा ८० प्रतिशत छुट गर्ने काम आफ्नै कार्यकालमा सुरु गरेको सुनाए । 
"मेरो कार्यकालमा ज्येष्ठ नागरिकलाई अस्पताल सम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको थिएँ । अहिले त्यसलाई हटाइएको छ । गोप्य कोठाको प्रयोग बन्द गरेको नाटक गरेर अधिकृतको कोठामा सेटिङ्ग गर्छन् ।  
पुर्वान्चल विश्वविद्यालयमा मेडिकल शिक्षाको बारेमा मैले धेरै प्रगति गरेँ । तर अहिले चासो नै दिइएको छैन," उनले भने । 
आफ्नै कार्यकालमा कर कार्यालय स्थापनाको लागि जमिन उपलब्ध गराएको र १० लाख सम्मका योजना वडाबाट खर्च गर्ने प्रगति गरेको उनले सुनाए । एउटा संस्थाको एम्बुलेन्स अर्को संस्थालाई दिएर विवाद झिक्ने काम गरेको उनको आरोप छ ।
अहिले नगरपालिका एमालेको भर्ती केन्द्र भएको बताउँदै उनले आत्मरतिमा नरमाउन उनले चेतावनी दिए । भूमिको भू-उपयोग नीति बनाउन नसक्ने तर आफ्नो कार्यकालमा भएको भन्दा बढी सुकुम्वासी समस्याको लागी एकरत्ति पहल नभएको ढकाल सुनाउँछन् । आफ्नो कार्यकालमा सुरु भएका १७ वटा सडक अलपत्र पारेर मेयर गुरागाईँले नाङ्गो नाच नाचेको उनले बताए ।