इटहरी : सुन्दरहरैचा नगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार शिवप्रसाद ढकालले उपमहानगरपालिका बनाउने योजना अगाडी बढाएका छन् । वडा नम्बर ९ को  घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका प्रत्याशी ढकालले भूगोल र जनसङ्ख्याको हिसाबमा सुन्दरहरैचा ठुलो भए पनि विकाशको पूर्वाधारको हिसाबमा भर्खरै उकालो लागेको बताए । 

उद्यम, स्वास्थ्य र कृषिको केन्द्र बनाएर उपमहानगरपालिका बनाउने योजना रहेको उनले सुनाए । अघिल्लो कार्यकाल भन्दा ५ गुणा बढी विकाश गरेर देखाउने बाचा गरे । अहिलेको कार्यकालमा अधुरा रहेका आयोजना पुरा गर्ने र आगामी ५ वर्षमा थप विकाशका योजना ल्याउने उनले बताए । 
गठबन्धन को समूह सहित बहुमतले आफूलाई जिताउन सबै नगरवासीलाई आग्रह गरेका छन् । एमाले सँग विकासका कुनै एजेण्डा नभएको बताउँदै उनले आलोचना र विरोधलाई चुनावी एजेण्डा बनाएको बताए । 
"यसबिचमा मेरो नेतृत्वमा स्वास्थ्य बिमा ल्यायौँ । तर एमालेले जितेको वडामा वडाध्यक्षहरूले समान रूपमा बिमा कार्ड वितरण गरेनन् ।,” ढकालले भने “जो जो एमालेका कार्यकर्ता छन् उनीहरूलाई मात्र वडाध्यक्षले स्वास्थ्य बिमा कार्ड वितरण गरे ।"