धरान :  सुनसरीमा पछिल्लो समय डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । 
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार देशैभर डेङ्गु सङ्क्रमण बढिरहेको बेलामा सुनसरीमा पनि ५० जना डेङ्गु सङ्क्रमित फेला परेका छन् ।
इटहरी उपमहानगरपालिकामा २३, धरान उपमहानगरपालिकामा १५, बराहक्षेत्र नगरपालिकामा ११ र इनरुवा नगरपालिकामा १ जना डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए । पहिले धरानमा महामारीकोरुपमा फैलिएको डेङ्गु यस पटक इटहरीमा सङ्ख्याको हिसाबमा बढी देखिएको छ । 
सुनसरीमा डेङ्गु सङ्क्रमण बढ्न थाले पछि सुनसरीका स्थानिय सरकार आफैले डेङ्गु नियन्त्रण र न्यूनीकरणका लागि अभियानहरू थालेका छन् । जस अनुसार धरानमा सोमबार देखि फगिङ गर्न थालिएको छ भने इटहरी उपमहानगरपालिकामा डेङ्गु नियन्त्रणका लागि सर्च एन्ड डिस्ट्रोए अभियान सुरु गर्ने मेयर हेमकर्ण पौडेलले नगरवासीसँग आव्हान गरेका छन् । 
एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट यो रोग फैलिने भएकोले डेङ्गुबाट सचेत र सजग रहन स्वास्थ्य कार्यालय सुनसरीले सबैसँग आग्रह गरेको छ । घर वरिपरि पानी जम्न नदिन खाल्डाखुल्डी पुर्नुपर्ने हुन्छ भने फुल दानी, गमला दानी, र धेरै समय सम्म पानी जम्ने बस्तुहरू हटाउन र पुरा बाहुला भएको लुगा लगाउन समेत स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गरेर आग्रह गरेको छ ।
डेङ्गुको सबैभन्दा उच्च जोखिममा धरान :
विगतका वर्षहरूमा महामारीकोरुपमा मानिसको मृत्यु नै हुने गरी धरानमा फैलिएको डेङ्गु यो वर्ष पनि धरानमा सङ्क्रमण देखिन थालेको छ । 
धरानको डेङ्गु सङ्क्रमण बढ्न नदिनका लागि तुरुन्त नियन्त्रण र न्यूनीकरणका लागि पहल कदमी थाल्नुपर्ने देखिन्छ । केही महिना अघि प्रदेश १ स्वास्थ्य निर्देशनालयबाट आएको किटजन्य रोग अनुसन्धान गर्ने टोलीले धरानको विजयपुर क्षेत्रमा गरेको अध्ययन अनुसार सो क्षेत्रमा डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको मात्रा अत्यधिक फेला परेको थियो । त्यो सँगै कालाजार सार्ने भुसुना र औलो सार्ने लामखुट्टे पनि फेला परेको थियो । तर ती किटजन्य रोग सार्ने वाहक लामखुट्टे, भुसुना नियन्त्रणका लागि अलिकति पनि काम भएन । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले यसबारेमा खासै चासो नदेखाएको स्थानीयवासीको दुखेसो छ । 
त्यतिखेर देखिएको लामखुट्टे अहिले झन् बढेर बसी नसक्नु भएको पिण्डेश्वर मन्दिर आसपासका बासिन्दाहरूको गुनासो छ । लामखुट्टे र भुसुना नियन्त्रणमा न त वडा कार्यालयले केही गर्‍यो न त नगरपालिकालेनै । त्यसैले अव डेङ्गुको प्रकोप बढिरहेको बेलामा सो क्षेत्रहरूमा सङ्क्रमण फैलियो भने ठुलो महामारी हुन सक्ने देखिन्छ । यसबारेमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको समयमै ध्यान जान जरुरी भएको छ । धरानमा बढी डेङ्गु सार्ने लामखुट्टे पाइने भएकोले तुरुन्त लामखुट्टे नियन्त्रणका लागि पहल थाल्नुपर्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ ।